सीता दाहालको निधनपछि सबै राजनीतिक गतिविधि ठप्प

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि प्रायः सबै राजनीतिक गतिविधि ठप्प भएको छ । बुधबारका लागि तय भएका अधिकांश राजनीतिक कार्यक्रम स्थगित भएका छन् ।

करिब एक वर्षपछि बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । झन्डै एक वर्षदेखि बस्न नसकेको केन्द्रीय समिति बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । अब बैठक साउन २ गते बस्ने कांग्रेसले जानकारी दिएको छ । कांग्रेस कावा मुख्यसचिव प्रदीप पराजुलीले विज्ञप्ति जारी गरी केन्द्रीय समिति बैठकको मिति परिवर्तन भएको उल्लेख गरेका छन् ।

एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएपछि पार्टीमा आशाको सञ्चार छाएको थियो । निर्वाचनको समीक्षा, सरकारमा सहभागी पार्टीका नेताहरू, केन्द्रीय विभागलगायतका विषयमा बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने तयारी गरेका थिए । अब पाँच दिनपछि मात्र बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीपत्नी सीता दाहालको निधनका कारण बुधबार बस्ने तय भएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ । विशेष कारण भन्दै बैठक बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । संसदीय समितिका बुधबार तय भएका सबै बैठक स्थगित भएका छन् ।

बुधबार बस्ने तय भएको समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ । सीताको निधनका कारण बैठक स्थगित गरिएको नेताहरूले जनाएका छन् । समाजवादी मोर्चामा माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सम्मिलित छन् ।

मोर्चा गठन भएको १९ दिनपछि पहिलो बैठक बसेको थियो । बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ६ महिनाका लागि संयोजक तोकेको थियो । आलोपालो प्रणालीअनुसार उनले संयोजकको जिम्मेवारी पाएका हुन् । बुधबार बस्ने भनिएको बैठकको अध्यक्षता माधव नेपालले नै गर्ने तय थियो । तर प्रधानमन्त्री पत्नी सीता दाहालको निधनले मोर्चाको बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री प्रचण्ड शोकमा रहेकाले कहिले बस्ने भन्ने टुंगो छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *