सीता दाहाललाई दिए प्रधानमन्त्री प्रचण्डले अन्तिम दागबत्ती

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीरलाई अन्तिम दागबत्ती दिएका छन् । पशुपतिनाथ आर्यघाटमा छोरी रेनु दाहाल र गंगा दाहाललाई साथमा राख्दै प्रधानमन्त्री प्रचण्डले अन्तिम दागबत्ती दिएका हुन् ।

श्रद्धाञ्जलीका लागि नेकपा(माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ ।

आर्यघाटमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र माधवकुमार नेपाल पनि उपस्थित छन् ।

साथै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा बैकुण्ठ अर्याल, सांसद, सचिव, कु्टनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित छन् ।

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *