महोत्तरीको गेरुका नदीमा शाही स्नान, आजदेखि मेला शुरु  

जनकपुरधाम । आज देखि शुरु भएको मलिमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकाको गेरुकाधाम स्थित गेरुका नदीमा शाही स्नान सम्पन्न भएको छ । 

मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइमा निस्केको रथ सहितको शोभा यात्रा गेरुकाधाममा पुगेर बिहान शाही स्नान तथा गेरुका मन्दिरमा विशेष पूजापाठको आयोजना गरिइएको छ । 

धनुषा तथा महोत्तरीको सिमानामा पर्ने गेरुका नदिमा शाही स्नानका लागि जनकपुरधामका विभिन्न मठ मन्दिरहरूबाट महन्थ, साधुसन्त सहितको टोलीले झाकी सहित गेरुका मेला पुगेका थिए । भगवान् विष्णु मलिमासमा गेरुका नदिमा वास बस्ने मान्यता अनुसार नदिमा स्नान गर्नका लागि हजारौँ व्यक्तिहरू मलिमास अवधिमा गेरुका पुग्ने गरेका छन् । 

एक महिनासम्म भगवान् विष्णु चीरसागरमा विराजमान हुने मान्यता अनुसार साउन महिना भरि नै गेरुकाधाममा ठूलो मेला लाग्ने गरेको छ । धार्मिक महत्वको गेरुका नदिमा स्नान गरेर गेरुकाधाममा रहेको भगवान् विष्णु सहितको मठ मन्दिरमा विशेष पूजा पाठ गर्ने चलन रहेको छ । 

शाही स्नानमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रदेश सभाका सदस्य एवं सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष रामअशिष यादव, सामाजिक अभियन्ता अमरचन्द्र अनिल, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, वातावरण संरक्षण अभियानीहरु सहितका विभिन्न मठमन्दिरका महन्थहरु सहभागी रहनु भएको थियो । 

गेरुकाधाम तथा धनुषाधामलाई जोडेर धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकेको खण्डमा जनकपुरधाम आउने पर्यटकलाई दुई तीन दिन वास बस्नका लागि सहयोग पुग्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिनु भएको छ । 

मलिमास शुरु भएसँगै आज देखि लागेको गेरुका मेला भर्नका लागि नेपाल तथा भारतको विभिन्न भागबाट लाखौँ व्यक्तिहरू गेरुकाधाम पुग्ने गरेका छन् । करिब पाँच वर्षको अन्तरालमा यस पटक मलिमास परेको छ । गेरुकाको पुर्नरुत्थानका लागि झाकी सहितको रथ यात्रा जानकी मन्दिरले यस पटक निकालेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिनु भएको छ ।

यता गेरुका नदिको संरक्षणमा विशेष ध्यान दिन आवश्यक रहेको छ । अहिले नदिमा पानीको बहाव निक्कै कम भएकाले नदिको संरक्षणमा पनि ध्यान दिनु पर्ने माग शाही स्नानमा सहभागी भक्तजनहरूले गर्नु भएको छ । मेला एक महिना रहनेछ भने आइतबार र मङ्गलवार अत्यधिक भिड रहने भएको छ ।   

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *