पञ्चकन्या समूहका व्यापार डेढ अर्बले बढ्यो


काठमाडौं। पञ्चकन्या समूहको चारवटा कम्पनीहरुको कारोबार एकैवर्ष १ अर्ब ४७ करोड रुपैयाँले बढेको छ। समूहको पञ्चकन्या स्टिल प्रालि, पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि, पञ्चकन्या प्लास्ट प्रालि र पञ्चकन्या रोटोमोल्ड प्रालिले सन् २०२१।२२ मा १० अर्ब १० करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२०।२१ मा समूहले ८ अर्ब ६३ करोड रुपैयाँको व्यापार गरेको थियो। २०१९।२० मा कारोबार रकम ५ अर्ब ८४ करोड रुपैयाँ थियो। चार कम्पनीहरुमध्ये पञ्चकन्याको डन्डी, रोटोमल्ड र प्लास्टिक उत्पादन गर्ने कम्पनीले अर्बमाथिको कारोबार गरेका छन्। जसमध्ये सबैभन्दा धेरै कारोबार गर्नेमा पञ्चकन्या स्टिल हो। पञ्चकन्या समूहको डन्डी कम्पनीको कारोबार २०२१।२२ मा बढेको छ। २०२१।२२ मा स्टिल कम्पनीले ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार गरेको छ। सन् २०२०।२०२१ मा कम्पनीले ५ अर्ब ५३ करोड र २०१९।२० मा ३ अर्ब २६ करोड रुपैयाँको व्यापार गरेको थियो। दोस्रोमा पञ्चकन्याको प्लास्टिक उत्पादन गर्ने कम्पनीले बढी व्यापार गरेको छ। कम्पनीले २०२१।२२ मा १ अर्ब ३६ करोड रुपैयाँको व्यापार गरेको छ। यो थोरै वृद्धि हो।

अघिल्लो वर्ष कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ र २०१९।२० मा १ अर्ब २९ करोड रुपैयाँको व्यपार गरेको थियो। त्यसपछि पञ्चकन्या रोटोमल्डले धेरै व्यापार गरेको छ। कम्पनीले २०२१।२२ मा १ अर्ब रुपैयाँमाथिको व्यापार गरेको छ। २०२०।२१ मा यो कम्पनीले ८६ करोड १० लाख र २०१९।२० मा ४५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। वार्षिक एक लाख ५० हजार टन जडिन उत्पादन क्षमता रहेको पञ्चकन्या स्टिलले २०२१।२२ मा आफ्नो कारोबार २२ प्रतिशतले वृद्धि गरेको थियो। तर, २०२२।२३ को ९ महिनामा कम्पनी व्यापार २९.८६ प्रतिशतले खुम्चिदै ३ अर्ब ७४ करोड रुपैयाँ रहेको बताइएको छ। कोरोना महामारीका कारण २०२० मा कम्पनीको कारोबारमा धक्का पुगे पनि त्यसपछि प्रतिस्पर्धात्मक बजार र उच्च बिक्रीका कारण २०२१ यता कम्पनीको व्यापार बढ्दै गएको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। तर, पछिल्लो समय खुम्चिएको बजार माग र आर्थिक सुस्तताले व्यापार घटेको देखिन्छ। भैरहवामा प्लान्ट रहेको कम्पनीले पञ्चकन्या ब्राण्डमा टीएमटी बार बिक्री गरिरहेको छ। कम्पनीले डन्डी उत्पादनका लागि महत्त्वपूर्ण कच्चा पदार्थ एमएस बिलेट भारतबाट आयात गरिरहेको छ। देशभर ९० वटा डिलर रहेको कम्पनीले अधिकांश भागमा डन्डी बिक्री गरिरहेको छ। पञ्चकन्या स्टिलमा सात सदस्यीय सञ्चालक समिति छ, जसको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ छन्।

कम्पनीको प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ छन्। पञ्चकन्या स्टिलले ५ अर्ब १४ करोड ऋणका लागि केयर रेटिङ्सबाट रेटिङ पुनःपुष्टि गराएको छ। ११ करोड ३१ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी रेटिङ पुनःपुष्टि गरेको छ। ५ अर्ब ३ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि कम्पनीलाई रेटिङ एजेन्सीले एनपी ए फोर रेटिङ पुनस्पुष्टि गरिदिएको छ। यस्तै, भैरहवामै उत्पादन प्लान्ट रहेको पञ्चकन्याको प्लास्टिक उद्योगको जडित क्षमता वार्षिक नौ हजार टन छ। एचडीपीइ पाइप र फिटिङ्स उत्पादन गर्ने यस कम्पनीले ती प्रडक्ट पनि पञ्चकन्या ब्राण्डमै बिक्री गरिरहेको छ। पञ्चकन्या प्लास्टिक प्रालिले केयर रेटिङ्सबाट १ अर्ब १७ करोड करोड रुपैयाँको रेटिंङ पुनःपुष्टि गराएको छ। १ करोड २६ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी डबल बी र १ अर्ब १६ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ केयर रेटिङ्सले पुनस्पुष्टि गरिदिएको छ। त्यसैगरी, पञ्चकन्या प्लास्टले सीपीभीसी र पीपीआर पाइप उत्पादन गर्दै आएको छ। भैरहवामै पाइप उत्पादन प्लान्ट रहेको उद्योगमा जडित क्षमता वार्षिक पाँच हजार टन छ। यो कम्पनीमा पनि सात सदस्यीय बोर्ड छ।

जसको अध्यक्षता प्रेमबहादुर श्रेष्ठले नै गरिरहेका छन्। कम्पनीले आवश्यक कच्चा पदार्थ थाइल्याण्ड र सिंगापुरबाट आयात गरिरहेको छ। कम्पनीले १ अर्ब रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुनस्पुष्टि गराएको छ। ९ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी डबल बी र १ अर्ब १५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुनःपुष्टि पाएको छ। यस्तै, पञ्चकन्या समूहकै अर्को कम्पनी पञ्चकन्या रोटोमोल्डले युपीभीसी पाइप र फिटिङ्स उत्पादन गर्छ। यो कम्पनीको भैरहवामै वार्षिक पाँच हजार चार सय टन जडित उत्पादन क्षमतासहितको प्लान्ट छ। कम्पनीले पाइप तथा फिटिङ्स उत्पादन गर्न आवश्यक कच्चा पदार्थ पीभीसी रेसिन पाउडर थाइल्याण्डबाट आयात गर्ने गरेको छ। जुन कच्चा पदार्थ डेरिभेटिभ्स हो। कम्पनीको अध्यक्ष पनि प्रेमबहादुर श्रेष्ठ छन्। यसमा पनि सात सदस्यीय सञ्चालक समिति छ। कम्पनीले १ अर्ब १० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि केयर रेटिङ्सबाट एनपी ए फोर रेटिङ पुनःपुष्टि पाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *