सिप्रदीले टाटा टियागो इभी दुई भेरियन्ट भित्र्याउने तयारी


काठमाडौं। टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले सिटी कार टियागो इभीको दुई वटा भेरियन्ट नेपाली बजारमा ल्याउने भएको छ। यसका लागि सिप्रदीका प्रतिनिधिहरु केही दिन अगाडि टाटा मोटर्सका प्रतिनिधि भेट्न भारत गएका थिए। सोही भेटमा भएको छलफलले टियागो इभीका दुई भेरियन्ट नेपाल ल्याउने योजना बनेको कम्पनीले बताएको छ। टियागो इभीको लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री उपलब्ध हुनेछ।

उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ३ सय १५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। यसमा भएको ५५ किलोवाट मोटरले ७४ ब्रेक हर्सपावर (बीएचपी) र १ सय १४ एनएम टर्क उत्पादन गर्छ। बीएचपीले गाडीको एक्सिलेरेसन र टप स्पिड निर्धारण गर्छ। बीएचपी भनेको सरल भाषामा भन्दा इन्जिनको शक्ति हो। टर्कले गाडीको टर्निङ फोर्स कति छ भनेर निर्धारण गर्छ। यस्तै, मिडियम रेन्ज भेरियन्टमा १९.२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ।

उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा २ सय ५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा भएको ४५ किलोवाट मोटरले ६० ब्रेक हर्सपावर र १ सय १० एनएम टर्क उत्पादन गर्न सक्छ। यो गाडी टिल ब्लु, डेटोना ग्रे, ट्रोपिकल मिस्ट, प्रिस्टिन ह्वाइट र मिडनाइट प्लम गरी ५ रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै टिल ब्लू र प्रिस्टिइन ह्वाइट रुचाइएका कलर विकल्पहरू हुन्। टियागो भारतमा हालसम्मकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार हो।

त्यसैले नेपालमा पनि यो गाडीको मूल्य ३० लाख रुपैयाँ भन्दा तल निर्धारण गर्ने तयारी सिप्रदीले थालेको छ। कम्पनीले ग्राहकहरुको लागि केही एग्रेसिभ मूल्य कायम गरेर उक्त गाडीको बिक्री सुरु गर्ने स्रोतले बताइएको छ। यसमा स्पोर्ट मोडको पनि उपलब्ध छ। यसको ब्याट्री फुल चार्ज गर्न सामान्य एसी चार्जरबाट ५ घन्टा र फास्ट चार्जरबाट एक घन्टा लाग्ने कम्पनीले जनाएको छ। यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ। कम्पनीले अबको १० दिनपछि अर्थात अगस्ट पहिलो हप्ता उक्त गाडीको बुकिङ खुलाउने तयारी गरेको कम्पनीले बताएको छ। उक्त गाडी भदौमा हुने नाडा अटो शोभन्दा अगाडि नेपाल आउने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *