कोशीमा फेरि पनि कांग्रेसका थापा मुख्यमन्त्री बन्ने, सभामुख गौतमले राजीनामा दिने

काठमाडौं । कोशी प्रदेशमा मंगलबार नै नयाँ सरकार गठन हुने भएको छ । कोशीमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा सकिनुअघि नै कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने भएका छन् । पहिलो कार्यकाल कांग्रेसका थापा र दोस्रो कार्यकाल माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने भित्री सहमति भएको बुझिएको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी हुन नसके धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्ने प्रक्रिया सुरु हुने छ । कोशी प्रदेश सभाको अंकगणितका कारण सजिलै सरकार बन्न सक्ने स्थिति छैन ।

९३ सदस्यीय कोशीमा एमाले ४०, नेपाली कांग्रेस २९, माओवादी १२, राप्रपा ६, एकीकृत समाजवादी चार र जनता समाजवादी पार्टीको एकजना गरी ९२ जना र सभामुख रहेका छन् । कोशीमा सरकार गठनको दाबीका लागि ४७ जना सांसद आवश्यक रहेकोमा दुबै गठबन्धनमा ४६–४६ जना मात्र छन् । तर काठमाडौंमा सभामुख बाबुराम गौतमलाई पदबाट राजीनामा दिएर नयाँ सरकार बनाउने सहमति जुटेको बुझिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सभामुखलाई राजीनामा गराएर आफ्नै नेतृत्वमा सरकार गठनको प्रक्रिया थाल्ने अनौपचारिक सहमति गरेको नेताहरुको भनाइ छ । सत्ता गठबन्धनले राप्रपासँग सहकार्यको प्रयास गरे पनि सफल नभएपछि माओवादीबाट सभामुख बनेका गौतमलाई राजीनामा गराएर सरकारको नेतृत्वमा दाबी पेस गर्ने तयारी गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *