पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय, निवासबाट पक्राउ

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।

तोषाखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ ।

इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।

इमरानको पार्टी तेहरिक-ए-इन्साफले यो निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ ।

पार्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको हो ।’

पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले यस अदालतले सजाय पाएपछि इमरान खानलाई पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

के हो प्रकरण ?

पाकिस्तानको कानून अनुसार विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ। यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने उसले यसको मूल्य बराबर रकम तिर्नु पर्ने हुन्छ । यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ । यी उपहारहरू कि त तोषाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ ।

यो आरोपको सिलसिला भने इमरान प्रधानमन्त्री हुँदाबाट सुरु भएको थियो । सन् २०१८ मा सत्तामा आएका इमरान खानले आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरका ५८ वटा उपहार पाएका थिए । यी महँगो उपहारहरू तोशाखानामा जम्मा गरिएका थिए तर पछि इमरान खानले सस्तो मूल्यमा तोशाखानाबाट किनेर बजारमा महँगो मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानूनमा समेत पनि परिवर्तन गरे ।

मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोशाखानाबाट २.१५ करोडमा किनेका थिए तर बिक्री गरेर ५.८ करोड रुपैयाँ नाफा कमाउन सफल भए। जुन उपहारमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरूलगायत रहेका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *