एमाले सांसदले वेल घेराउ गरेपछि संसद् बैठक स्थगित, शुक्रवारका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेपछि संसद् बैठक साउन २६ सम्मका लागि स्थगित भएको हो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले बुधबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै बोल्ने समय मागेको थियो। सँगै सत्ता पक्षका सांसदहरुले पनि बोल्न समय मागे।

सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए। सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गर्न थाले ।

नाराबाजी नरोकिएपछि सभामुख घिमिरेले बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

संसद् बैठक अवरुद्ध भएपछि रास्वपा सांसदले असन्तुष्टि जनाएका छन् । रास्वपा सांसद मनिष झा लेख्छन्, ‘प्रतिनिधिसभाको आजको बैठक तोकिएको समयभन्दा केवल १४ मिनेट मात्र ढिलो सुरु भयो, समय अनुशासनमा सुधार देखेर खुसी भयौ। तर, आज पनि दुई प्रमुख दलबाट नाटक मञ्चन भयो, फेरि जनताको करको दुरुपयोग भयो। दुखद ।’

रास्वपाले निर्धारित समयमै बैठक सुरु गर्न दबाब दिएको थियो । निर्धारित समयमै घडी हेरेर रास्वपा सांसद बैठकमा पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *