टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

काठमाडौं । गोरखाको सतिपिपलमा भेटिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले दुईदिन लगाएर गरेको परीक्षणबाट गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो ।

भूगर्भविद्को टोलीले टल्कने ढुङ्गाको नापतौल लिनुका साथै अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको भूगर्भविद् डा सुस्मिता भण्डारीले जानकारी दिए । परीक्षणका क्रममा उक्त ढुङ्गाको तौल ५२ किलो तीन सय ३० ग्राम रहेको पाइएको छ । यति ठूलो तौलको भएको एउटै चट्टानका भेट्टाउनसमेत गाह्रो पर्ने भूगर्भविद् डा भण्डारीको भनाई छ ।

‘क्वार्ज क्रिष्टल’ मुख्यरुपमा सजावटका सामग्री तथा गरगहना बनाउन प्रयोग गरिन्छ । त्यस्तै रेडियो ट्रान्समिटर, कम्प्युटर, घडीलगायतका अन्य विद्युतीय उपकरणमा पनि क्वार्ज क्रिष्टलको आंशिकरुपमा प्रयोग गरिएको हुन्छ । ढुङ्गाको परीक्षण गरी विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय गोरखालाई परीक्षण प्रतिवदेन बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमूना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद् डा भण्डारी र दुर्गा बोलाखेको टोली गोरखा पठाएको थियो । अध्ययन टोलीले बरामद गरिएको ‘क्वार्ज क्रिष्टल’ खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि प्रतिवेदनमार्फत सुझाव दिएको छ ।

खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्यगर्ने अनुमति नलिई उत्खनन् तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमाफृत आग्रह गरिएको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो ।

टल्कने ढुङ्गा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा राख्न गोरखाका विभिन्न सङ्घसंस्थाले प्रशासनसँग माग गर्दै आएका छन् । टल्कने ढुङ्गा ऐतिहासिक महत्वको भएको हुनसक्ने भन्दै गोरखा दरबार परिसरमा प्रणप्रतिष्ठा गरी व्यवस्थापन गनुपर्नेमा सङ्घसंस्थाको जोड छ ।

पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको बल्ने शिला कुनै पनि बहानामा गोरखा जिल्ला बाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्ने स्थानीयवासीको पनि भनाइ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *