कांग्रेस सांसद शर्मालाई बोकेर ओलीले के सन्देश दिन खोज्दैछन् ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सरकारमाथि आक्रोश पोखे । ओलीले केही कुरा खुलस्त बताए । केही कुरा संकेत मात्रै गरे ।

ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीति फेरि तान्ने प्रयासप्रति असन्तुष्टि जनाए । केही एमाले नेताहरूले पछिल्लो समय भण्डारीलाई एमालेमा फर्केर पुनः सक्रिय राजनीति गर्न अनुनय विनय गर्दै आएका थिए । जसलाई लिएर ओलीले थ्रेट महसुस गरेको प्रस्टै बुझ्न सकिन्थ्यो ।

ओलीले विद्यादेवीलाई तानेर एमालेमा विवाद ल्याउन खोजिएको भन्दै त्यसतर्फ नलाग्न सचेत गराए । एमाले नेताहरूले भण्डारीलाई भेट्नु सामान्य भएको उनको भनाइ थियो । ओलीले भण्डारी पहिले एमालेकै उपाध्यक्ष भएकाले यसलाई अतिरञ्जित गर्न आवश्यक नरहेको पनि बताए ।

ओलीले गरेको अर्को संकेत भनेको सरकार परिवर्तनको खेल भइरहेको छ । यसमा ओलीले प्रस्ट भनेका छैनन् । उनले एमालेलाई सत्तामोह नभएको दाबी गरे । तर सँगसँगै भने, ‘यसो भन्दैमा अब जे मन लाग्यो सरकारले गर्छु भन्यो भने त्यो सैह्य हुन्न ।’
ओलीले आइतबारको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा सरकारको कडा आलोचना गरे ।

आफ्नै नेताको यसरी प्रतिरक्षा नगर्ने ओलीले किन सत्तारुढ कांग्रेसका सांसदको प्रतिरक्षा गर्दै सरकारको आलोचना गरेका हुन् भन्ने विषयले संशय पैदा गरेको छ । ओलीले शुक्रबार बिहान पनि शर्मा पक्राउ परेकोमा आपत्ति जनाएका थिए । आइतबार मात्र शर्मा ओली निवास बालकोट पुगेर भेटघाट गरेका थिए ।

बालकोटबाट फर्केलगत्तै शर्माले मिडियासँग कुराकानी गर्दै अब शेरबहादुर देउवा र केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने अभिव्यक्ति दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरे । ओलीसँग भेटेलगत्तै शर्माले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नु र ओलीले पनि पत्रकार सम्मेलनमा सोही किसिमको अभिव्यक्ति दिनुले पनि केही समयपछि सरकार परिवर्तन हुने आशंकालाई बल मिलेको छ ।

शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए । ‘सरकार चेन्ज गर्ने कुरा आजको भोलि हुँदैन । कांग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाइ, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन्,’ ओलीसँग भेटेपछि शर्माले भने ।

शर्मा कांग्रेसमा डा।शेखर कोइराला निकट नेता हुन् । शेखर पनि सुन तस्करी घटनामा सरकारको आलोचना गरिरहेका छन् । शेखर र ओलीबीच पनि हार्दिक सम्बन्ध छ । सोही कारण अहिले कांग्रेस र एमालेको एक तहमा नयाँ समीकरणबारे कुराकानी त भइरहेको छैन भन्ने आशंका उत्पन्न भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *