प्रहरीको सरुवामा लागु भएको नयाँ मापदण्ड


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धी माापदण्ड –२०७९’ लाई संशोधन गरेर नयाँ तयार गरिएको छ । नयाँ मापदण्ड अनुसार प्रहरी युनिटहरुलाई ‘क’, ‘ख’ र ‘ग’ मा वर्गीकरण गरिएको छ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) बस्ने कार्यालयलाई ‘क’ र ‘ख’ सहित दुई तहमा वर्गीकरण गरिएको छ । सातवटै प्रदेश प्रहरी कार्यालयलाई ‘क’ वर्गमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगस्थित प्रहरी महाशाखा समेतका १२ वटा कार्यालयलाई ‘ख’ श्रेणीमा राखिएको छ । डीआईजीहरु कार्यालय प्रमुख भएका ११ वटा कार्यालयलाई ‘क’ श्रेणीमा राखिएको छ । डीआईजीको सरुवा गर्न गृह मन्त्रालयमा सरुवा सिफारिस गर्दा ‘क’ र ‘ख’ श्रेणीका कार्यालयहरुबिच आलोपालो सिफारिस गरिने मापदण्डमा उल्लेख छ । प्रहरी नियवमाली अनुसार डीआईजीको सरुवा प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले गर्ने व्यवस्था छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बस्ने कार्यालयहरुलाई ३ तह ‘क’, ‘ख’ र ‘ग’ मा वर्गीकरण गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी परिसर काठमाडौँलाई ‘क’ वर्गमा राखिएको छ । एसएसपी इन्चार्ज हुने १३ वटा कार्यालय ‘क’ वर्गमा छन् । मानव बेचविखन ब्यूरो र लागुऔषध नियन्त्रण ब्यूरोसहित ११ युनिटलाई ‘ख’ र ३३ वटा कार्यालयहरुलाई ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ ।

एसएसपीहरुलाई सरुवा गर्दा सुरुमा ‘ग’ र ‘ख’, त्यसपछि ‘क’ मा सरुवा गर्नेगरी मापदण्ड स्वीकृत गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) बस्ने कार्यालयहरुलाई पनि ३ तहमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापा, मोरङ र सुनसरी समेत २४ वटा युनिटलाई ‘क’ श्रेणीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय ईलाम, धनकुटा र सिन्धुलीसहित २६ वटा कार्यालयलाई ‘ख’ श्रेणीमा राखिएको छ । प्रहरी गण, पहरा गण र विशेष सुरक्षा गणलाई ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ । कार्यालय प्रमुखको रुपमा सरुवा गर्दा ३ श्रेणीका कार्यालयहरुमा आलोपालो सरुवा गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नयाँ मापदण्ड अनुसार पहिलोपटक कार्यालय प्रमुख खटाउँदा बढुवा भएको ६ महिनापछि मात्र एसपीहरुले कार्यालय प्रमुखको जिम्मेवारी पाउँछन् । प्रहरी नायव उपरीक्षक (डीएसपी) कार्यालय प्रमुख हुने कार्यालयहरुलाई पनि ३ तहमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, ओखलढुंगा र रामेछाप लगायत २८ वटा कार्यालयलाई ‘क’ श्रेणीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुम, खोटाङ, र मनाङ सहित ३९ युनिट लाई ‘ख’ र प्रहरी वृत्त कीर्तिपुर, चापागाउँ सहितका २१ वटा कार्यालयलाई ‘ग’ श्रेणीमा राखिएको छ । कार्यालय प्रमुखको रुपमा सरुवा गर्दा ३ श्रेणीका कार्यालयहरुमा आलोपालो हुनेगरी सरुवा गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । पहिलो पटक कार्यालय प्रमुखको रुपमा खटाउँदा डीएसपीमा बढुवा भएको ६ महिनापछि मात्र कार्यालय प्रमुखको जिम्मेवारी दिइने मापदण्डमा उल्लेख गरिएको छ । ‘ग’ र ‘ख’ श्रेणीको कार्यालयमा काम गरेपछि मात्र डीएसपीहरु ‘क’ श्रेणीको कार्यालयमा सरुवा हुन पाउँछन् । सरुवा क्यालेन्डर श्रावण–भाद्र र फाल्गुण–चैतमा सरुवा गर्ने गरी लागु गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *