लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरमा मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


काठमाडौं । ३० वर्षदेखि अनवरत नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा काठमाण्डौको थापाथलीमा सम्पन्न वार्षिक साधारणसभाले वरिष्ठ गीतकार तथा साहित्यकार बसन्त चौधरीकी पुत्री मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी चारवर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ रंगकर्मी हरिहर शर्मा, महासचिवमा गीतकार तथा पत्रकार रमण घिमिरे र कोषाध्यक्षमा मनिषकुमार खेम्का निर्वाचित भएका छन् । यस्तै, कार्यसमिति सदस्यहरुमा डा. उषा ठाकुर, नारायणभक्त श्रेष्ठ(रायन), राजेन्द्र सलभ निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिले बिहीबार नै पदभार ग्रहण गरेको छ । नेपालको अग्रणी र सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपका प्रणेता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित भएको साहित्यकला मन्दिरको संरक्षकमा कवि तथा गीतकार बसन्त चौधरी रहेका छन् । यसअघि लामो समयसम्म यो मन्दिरको कार्यसमिति अध्यक्षको रुपमा चौधरीले काम गरेका थिए । उनले आफ्ना मातापिताको नाममा स्थापित यो संस्थाको जिम्मेवारी उनकै एकमात्र पुत्री मेघा चौधरीले पाएकी हुन् ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै वरिष्ठ कवि बसन्त चौधरीले आफूले ३५ वर्षको हुँदा साहित्यकला मन्दिरको जिम्मेवारी बहन गरेको स्मरण गर्दै आफ्नी पुत्री मेघालाई सो जिम्मेवारी सुम्पिन पाएकोमा प्रसन्नता प्रकट गरे । ‘मेरी छोरीमा म भन्दा पनि राम्रो नेतृत्व क्षमता छ । उनले भने–‘बासना फैलाउने गुलाबको सुन्दर फूल झै मेरी छोरीले पनि आफ्नो क्षमताले यो संस्थालाई समेत नयाँ उचाई दिनेछिन् भन्ने विश्वास छ । आगामी दिनमा अझ बढी सेवाको कार्य हुनेछ । उनले ३० वर्षको अवधिमा साहित्यकला मन्दिरले १० दर्जन मूर्धन्य स्रष्टालाई सम्मान गरेको स्मरण गर्दै नेपालमा साहित्यकलाको क्षेत्रमा ३० वर्षसम्म अनवरत काम गरेको योजस्तो अर्को कुनै संस्था नरहेको समेत बताए ।

सो अवसरमा उनले साहित्य, संगीत, कला, पत्रकारिता, स्वास्थ्य, समाजसेवा लगायतका क्षेत्रमा संस्थाको कार्यक्षेत्र बिस्तार हुने र यही वर्ष नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार समेत स्थापना गरिने घोषणा गरे । कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले नेपाली साहित्यकला र संगीतको उन्नयन तथा विश्वस्तरमा नेपाली कलासाहित्य र भाषाको प्रवद्र्धनका लागि साहित्यकला मन्दिरले विशिष्ट योगदान पुर्याएको बताए । साधारणसभामा साहित्यकला मन्दिरको नाम परिवर्तन गरी वृहत उद्देश्यसहित अगाडि बढ्ने अजेण्डा पारित भएको छ । यसका लागि विधान संसोधनको प्रस्ताव समेत पारित भएको नवनिर्वाचित अध्यक्ष मेघा चौधरीले जानकारी दिइन् । साधारणसभाबाट रमण घिमिरेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन समेत पारित भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *