मेयर बालेनका बलियो सारथी थिए मुकुन्द रिजाल

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका बलिया र जुझारु नेता गुमाएको छ । काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा डेंगु उपचारका क्रममा निधन भयो । उनी काठमाडौं कांग्रेस ७ क्षेत्रीय सभापतिसमेत हुन् ।

लगातार दोस्रोपटक वडाध्यक्ष जितेका रिजाल आगामी निर्वाचनमा काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्यका सम्भावित कांग्रेस उम्मेदवार पनि मानिएका थिए । रिजाललाई काठमाडौंवासीले विकासप्रेमी नेताका रूपमा लिएका थिए । भूकम्प जाँदा होस् वा कोरोनाकालमा जनप्रतिनिधिका रूपमा रिजालले निकै राम्रो काम गरेको वडावासी बताउँछन् । आफ्नो स्वार्थका लागि कुनै काम नगरेका मुकुन्दलाई लगातार दोस्रोपटक पनि जिताउनुले उनी प्रतिनिधिसभाका सशक्त उम्मेदवार मानिएको थियो । वडाध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको अभिव्यक्ति निकै चर्चामा आएको थियो ।

फोहोर व्यवस्थापनलगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन साहसँग उनको चर्काचर्की पनि परेको थियो । पछि मेयर साह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए । र, सँगै खाना पनि खाए । त्यसपछि बालेनले उनलाई निकै महत्वपूर्ण जिम्मेवारी पनि दिएका थिए । जसकारण बालेनले कहिल्यै विवाद झेल्नु परेको थिएन । हरेक कार्यपालिका बैठकमा कुनै विवाद नउठ्नुमा पनि मुकुन्दको भूमिका महत्वपूर्ण मानिएको थियो । तर बालेनले अब बलियो र लोकप्रिय जनप्रतिनिधिको साथ गुमाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *