सर्लाही सदरमुकाम मलङ्गवाको ‘कर्फ्यु’ हटाइयो

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा भने जारी छ ।

बजार खुलेका छन् भने गाडी पनि सहज रुपमा चलिरहेका छन् । मलङ्गवामा हिजो बेलुका ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो । शुक्रवार बेलुका मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्णको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो । दुई पक्षबीचको विवादमा झडप भएको थियो ।

केही व्यक्ति र प्रहरी समेत घाइते भएका थिए । हिजो दिउँसो फेरि दुवै पक्षबीच विवाद बल्झिएपछि स्थानीय प्रशासनले सुरक्षा बढाउँदै कर्फ्यु लगाएको थियो । पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी र बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *