सन्दीप लामिछानेविरुद्धको मुद्दा : असोज १ गते अन्तिम सुनुवाइ हुने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ । बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको हो ।

सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार उक्त मुद्दाको आगामी पेसी असोज १ गतेलाई तोकिएको छ । सोही दिन वा सोही दिनबाट हेर्दाहेर्दैमा राखेर मुद्दाको अन्तिम सुनुवाइ गर्न लागिएको हो । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो । आमाको उमेर विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि आगामी पेसी असोज १ गतेका लागि तोकिएको हो ।

काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २६ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।

सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।

असोज १ गते वा सो दिनबाट हेर्दाहेर्दैमा राखेर अन्तिम सुनुवाइ गरिएमा सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाउने वा दोषी ठहर हुने भन्ने निर्क्योल हुनेछ । अभियोग दाबीबाट सफाइ पाएमा उनीमाथिको सर्त र प्रतिबन्धहरु हट्नेछन् भने दोषी ठहर भएमा सजाय भुक्तानका लागि उनी जेल जानेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *