कोशीमा १२ दिनका लागि थपिय मन्त्री, राप्रपाले एमालेलाई विश्वासको मत नदिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार चारजना मन्त्रीले शपथग्रहण गरेसँगै कोशी प्रदेशमा नौ सदस्यीय मन्त्रीमण्डल बनेको छ । मन्त्रिपरिषदमा एकजना मुख्यमन्त्री, पाँचजना मन्त्री र तीनजना राज्यमन्त्री छन् । नियुक्त भएका सबै मन्त्री एमालेकै हुन् ।

मुख्यमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरुको जिम्मेवारीसमेत हेरफेर गरेका छन् । सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री भएका छन् भने लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री भएका छन । रामप्रसाद महतो उद्योग, कृषितथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार मेन्याङ्बो स्वास्थ्य, पाँचकर्ण राई पर्यटन, वन तथा वातावरण, एकराजकार्की भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास मन्त्रालय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार पनि धेरै दिन टिक्ने अवस्था छैन । अब १२ दिनभित्र अर्थात् असोज २० गतेभित्र सरकारले प्रदेश सभामा विश्वासको मत लिनुपर्ने हुन्छ । तर एमालेसँग ४० सांसद मात्र छन् । बहुमतका लागि ४७ सांसद चाहिन्छ ।

एमालेलाई राप्रपाले विश्वासको मत नदिने संकेत अहिले मुख्यमन्त्री कार्कीले गरेको मन्त्रिपरिषद् विस्तारले पनि पुष्टि गर्छ । यदि राप्रपाले कोशी सरकारलाई समर्थन गर्ने भए त्यो पार्टीबाट मन्त्री नियुक्त हुने थिए ।

राप्रपाले अहिलेको सरकार ढलेमा संविधानको अर्को धाराअनुसार सरकार बन्दा मुख्यमन्त्रीको दाउ हेरिरहेको छ । तर कार्कीले आफूले विश्वासको मत नपाए मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना पनि उत्तिकै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *