सन्दीपविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जनामात्रै उपस्थित छन् । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेको कारण लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो । फाँट नम्बर २८ मा रहेका अन्य सबै मुद्दा पनि स्थगितको सूचीमा परेको छ ।

हालसम्म ३० पटक साप्ताहिक तारेख र पूरक सहित २६ पटक पेशीमा चढेको उक्त मुद्दा वैशाख २४ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि विविध कारण अन्य आदेश हुँदै पर धकेलिएको छ । त्यतिबेला पनि कुनै पनि न्यायाधीशले सन्दीप प्रतिवादी रहेको मुद्दाको गोला नतानेपछि स्थगित भएको थियो । सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता भएको थियो भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।

सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भए पनि विविध कारणले उक्त मुद्दाको सुनुवाइ सर्दै आएको छ । अन्तिम सुनुवाइपछि नै सन्दीपले अभियोग दाबीबाट सफाइ पाउने वा दोषी ठहर हुने भन्ने निर्क्योल हुनेछ । सन्दीप दोषी ठहर भएमा कम्तीमा १० वर्षको जेल सजाय भोग्नुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *