आज घटस्थापना, दसैँघरमा राखियो जमरा


काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ । आइतबारदेखि सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत् रूपमा जमरा राखिन्छ । हनुमानढोकास्थित दसैँघरमा पनि विधिवत् वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभसाइत बिहान ११ः२९ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाएको थियो । बन्दुक पड्काएर बढाइँ गरिएको थियो । बडादसैँको पहिलो दिन घटस्थापनका अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ ।

यस दिन बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्रस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा जमरा छर्ने गरिन्छ ।विशेषतः जमरा जौको राख्ने गरिन्छ । अहिले भने मकै र गहुँ मिसाएर जमरा राख्ने गरिएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वानसहित पूजाअर्चना गरिन्छ । नवरात्रिभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *