भारतले नेपाललाई चामल दिने


काठमाण्डौं । भारतले नेपालसहित सात देशलाई तोकिएको परिमाणमै गैरबासमती चामल निर्यातको अनुमति दिएको छ । गत जुलाई–२० बाट भारतले गैर चामलको निर्यातमा रोक लगाएको थियो । भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचना अनुसार नेपाललाई ९५ हजार टन चामल निर्यात गरिने छ । नेपाल सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध खुकुलो बनाउन आग्रह गर्दै आएको थियो । दिल्लीस्थित नेपाली दूतावास मार्फत नेपालले भारत सरकारसँग एक लाख टन गैरबासमती चामलको माग गरेको थियो ।

प्रतिबन्ध लगाइएको तीन महिनापछि भारतले नेपालका लागि निर्यातको कोटा तोकेको हो । बुधबार जारी गरिएको सूचना अनुसार सात देशलाई कुल १० लाख ३४ हजार ८ सय टन चामल निर्यातको कोटा दिइएको छ । पछिल्लो पटक चामल निर्यातको अनुमति पाउनेमा नेपाल, कैमरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसल्स छ । फिलिपिन्सले सबैभन्दा बढी २ लाख ९५ हजार, कैमरूनले १ लाख ९० हजार, मलेसियाले १ लाख ७० हजार, कोटे डी आइभोर र गिनीले १ लाख ४२ हजार टन चामल भारतबाट पाउने छन् ।

सबैभन्दा कम सेसल्सलाई ८ सय टन दिइएको छ । तोकिएको कोटाको चामल भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेड मार्फत निर्यात गरिने विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित देशहरुको खाद्य सुरक्षा र आवश्यकतालाई हेरेर निर्यात खुलाइएको जनाइएको छ । यसअघि भारतले यूएई, सिंगापुर, भुटान, मरिसस, सेनेगल, गाम्बिया, इन्डोनेसिया, माली लगायतका देशलाई पनि कोटा तोकेर निर्यातको अनुमति दिइसकेको छ । विश्व बजारमा भारतीय चामलको ठूलो हिस्सा छ । कुल चामल निर्यातको ४० प्रतिशत भारतबाटै जान्छ । भारतबाट १ सय ४० देशमा चामल निर्यात हुँदै आएको छ । तर, आन्तरिक बजारमा मूल्यवृद्धि हुन नदिन भारतले चामलको निर्यातमा रोक लगाएको थियो । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा चामलको मूल्यमा वृद्धि भएको छ । नेपाललाई पनि त्यसको मार परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *