वैद्य अर्गनाइजेसनले एथर इलेक्ट्रिक स्कुटर नेपाल ल्याउँदै


काठमाडौं। वैद्य अर्गनाइजेसनको सहायक कम्पनी वैद्य इनर्जी एथर ब्रान्ड नेपाल भित्र्याउन आधिकारिक बिक्रेताको रुपमा केही दिन अगाडि छनोट भएको छ। एथरको स्कुटरहरु अन्तर्राष्ट्रिय बजारमा अहिलेसम्म निर्यात भएको थिएन। एथरका लागि नेपाल पहिलो अन्तराष्ट्रिय बजार हो। वैद्य अर्गनाइजेसनले जापानी ब्रान्ड टोयोटाको गाडी बिक्री गर्दै आएको छ। टोयोटाका गाडी बिक्री गर्न सफल यो कम्पनी अब दुई पाङ्ग्रे ईभीतिर पनि प्रवेश गरेको छ। नेपालमा दुई पाङ्ग्रे ईभीको बिक्रीमा यसरी ठूला घरानाको प्रवेशले ग्राहकहरुलाई पनि विश्‍वासको बाटो खुलेको छ। यसअघि जो सुकैले पनि इलेक्ट्रिक स्कुटर ल्याउने र केही युनिट बिक्री गरेपछि भाग्‍ने प्रवृति थियो। एथर इनर्जीका सीईओ तरुण मेहेताले आफूहरुको रोजाइमा पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल परेको संदेश दिएका छन्। उनले केही दिन अगाडि भारतमा पत्रकार सम्मेलन गरेर नेपालमा एथरका उत्पादन वैद्य इनर्जीले बिक्री गर्ने घोषणा गरेका थिए।

यसमा हिरो मोटोकर्पको पनि ३३ प्रतिशत सेयर स्वमित्व रहेको छ। कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागसिप मोडल ‘४५० एक्स’ नेपालमा बिक्री सुरु गर्ने जनाएको छ। कम्पनीका अनुसार ४५० एक्स दुई फरक ब्याट्री २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको विकल्पमा नेपालमा उपलब्ध हुनेछ। यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन्। यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा छ। यसलाई एक पटकको फुल चार्जमा १४६ किलोमिटरसम्म चलाउन सकिन्छ। एथर ४५० एक्सको लम्बाई १८३७ एमएम, चौडाई ७३४ एमएम र उचाई १२५० एमएमको छ भने यसमा ७८० एमएमको सिट हाइट र १२९५ एमएमको ह्वीलवेस उपलब्ध छ। यसमा १५३ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ। जुन नेपालको लागि राम्रो मानिन्छ। सस्पेन्सन भने अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक उपलब्ध छ। यसमा ४ वटा ड्राइभिङ ईको, स्मार्ट ईको, राइड र स्पोर्टस् मोडहरु उपलब्ध छन। साथै यसमा ५.४ किलोवाट पीक पावर भएको मोटरले अधिकतम ७.३४ पीएस पावर प्रदान गर्छ। यसको टर्क भने २२ न्यूटनमिटर उत्पादन गर्ने सक्ने क्षमताको छ। यस्तै कम्पनीले इलेक्ट्रीक स्कुटरको लागि चार्जिङ पूर्वाधारदेखि सर्भिस सेन्टरहरु निर्माणमा जोड दिने जनाएको छ। त्यही अनुसार कम्पनीले फास्ट चार्जिङ नेटवर्क बनाउने तयारी थालेको छ। यसको सुरुवाती मूल्य भारतीय बजारमा १ लाख ३८ हजार रुपैयाँ भारु तोकिएको छ। तर नेपालमा कति मूल्यमा यो स्कुटर खरिद गर्न पाइन्छ भन्‍नेबारे कम्पनीले केही समयमा मूल्य तोकेपछि मात्र जानकारी हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *