गाउँघरमा पनि देखिन छाडे ढिकी र जाँतो

भोजपुर । दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेको हो ।

मानिस उत्पादनमुखीभन्दा पनि बाहिर बजारबाट आउने चामल, दाललगायत सामग्री प्रयोग गर्ने भएकाले पनि ढिकी, जाँतोको चलन हराउँदै गएको छ ।

विगतमा ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम हुने भए पनि पछिल्लो समयमा आधुुनिक मिलको सहायताले मानिस कुटानी, पिसानी गर्दै आएका छन् । दशकअघिसम्म एउटा घरमा ढिकी, जाँतो अनिवार्य हुने गरेको भए पनि त्यो चलन हराउँदै गएको स्थानीय ९८ वर्षीय वृद्ध बेनीबहादुर विष्टले बताए ।

अबको १२र१५ वर्षमा यी उपकरण चलाउने प्रचलन पूर्णरुपमा लोप हुने उनको भनाइ छ । ‘पहिला गाउँघरमा ढिकी, जाँतो अनिवार्य जस्तो नै थियो’, उनले भने, ‘सबैका घरमा ढिकी, जाँतो हुन्थ्यो । तर अहिले त्यस्तो अवस्था रहेन । प्रविधिको विकाससँगै ढिकी जाँतोका चलन इतिहास बन्ने अवस्था छ ।’

गाउँघरमा विद्युत् पुगेसँगै यहाँका अधिकांश ठाउँमा विद्युतबाट चल्ने मिल राखेर धान कुटानी, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागतरूपमा चल्दै आएका ढिकी, जाँतो हराउन थालेका हुन् ।

कुटानी, पिसानीका लागि आधुनिक मिलले सहज भए पनि ढिकी, जाँतो भने लोप हुँदै गएको स्थानीयको भनाइ छ । मानिसले बढी मेहनत गर्नुपर्ने भए पनि ढिकी, जाँतोमा कुटेका खाने कुरा स्वास्थ्यकरसँगै स्वादिष्ट हुने टेम्केमैयुङ– ५ की स्थानीय मसिनी माया विष्ट बताउछन् ।

‘आधुनिक मिलमा कुटानी, पिसानीका लागि सहज छ’, उनले भने, ‘तर यसरी कुटिएको अन्नको स्वाद राम्रो हुन्न । ढिकी, जाँतोमा कुटेर, पिसेर खाँदा स्वाद नै फरक हुन्छ । मिलमा कुटानी, पिसानीको लागि छिटो हुने भएकोले ढिकी, जाँतोको चलन हराएको छ ।’ गाउँका प्रत्येकजसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनको भनाइ छ ।

भौगोलिकरूपमा विकट र विद्युत् पुग्न नसकेका गाउँमा भने अहिले पनि ढिकी तथा जाँतोको प्रयोग हुने गरे पनि विद्युत् पुगेका ठाउँमा परम्परागतरूपमा रहेका ढिकी तथा जाँतो प्रयोग गर्ने चलन हराएको स्थानीयवासी हिरालाल लुइँटलले बताए ।

‘विद्युत् विस्तार भएका ठाउँमा ढिकी, जाँतोको प्रयोग हटेको छ’, उनले भने, ‘तर विद्युत् नपुगेका ठाउँमा भने अहिले पनि ढिकी, जाँतो प्रयोग गर्दै आएका छन् । प्रविधिको विकासले ढिकी, जाँतोको चलन हराउँदै गएको छ ।’ सहजतासँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतो इतिहास बन्ने अवस्था आएको लुइँटेलले बताए । परम्परागतरूपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतोलाई संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

मेहनत धेरै परे पनि अन्य मिलको तुलनामा घरेलु तरिकाले काम गरिने भएकाले कम खर्चिलो हुने उनले बताए । ढिकी र जाँतोमा नकुटी नहुने पूजाआजामा प्रयोग गरिने पिठोलगायत कुट्नका लागि ढिकी अनिवार्य जस्तो नै रहेको उनको भनाइ छ ।

‘मेहनत बढी परे पनि ढिकी, जाँतोको सहजताले कुटिएका खानेकुरा लाभदायक हुन्छ’, उनले भने, ‘यस्तो चलन गाउँघरबाट नै हराउँदै जानु दुःखद् हो । यी कुराहरुलाई हामी पनि संरक्षण गर्न आवश्यक छ ।’ आधुनिक मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व भने नष्ट हुने स्थानीयवासीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *