किसान बहुउद्देश्यीय सहकारी २९औं बर्षमा


लम्कीचुहा नगरपालिका १ कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था आजबाट स्थापनको २९औं बर्षमा प्रवेश गरेको छ । २०५२ साल कातिक १७ गते स्थापना भएको उक्त संस्थाले आजबाट स्थापनाको २८औं बर्ष पुरा गरी २९औं बर्षमा प्रवेश गरेको हो । संस्थाका महाप्रबन्धक डम्वर बहादुर शाहले संस्थालाई स्थापनाको २९ औं बर्षसम्म ल्याइपुर्याउन सदस्य बनेर निरन्तर वित्तीय कारोवार गर्ने सेयर सदस्य, सञ्चालक समिति, कर्मचारी नियामक निकाय लगायतलाई उक्त अवसरमा धन्यवाद दिएका छन् । संस्थाले सुदुरपश्चिम प्रदेशका ६ जिल्लामा ४० सेवा केन्द्र र लुम्बिनी प्रदेशको एक जिल्ला १ सेवा केन्द्र गरी ४१ सेवाकेन्द्र मार्फत ८० हजार सदस्यलाई वित्तीय लगायतका अन्य सेवा प्रदान गर्दै आएको उनले बताए। संस्थाले वित्तीय सेवाको अलावा कृषि, मार्ट तथा गैरवित्तीय सेवा समेत प्रदान गर्दै आएको छ । संस्थाबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी र गुणस्तरीय ढंगले प्रदान गर्नको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएर मोबाईल बैकिङ्ग, ट्याब बैकिङ्ग, क्यु आर पेमेन्ट, फोन पे, मिस कल सेवा, एटिएम मेशिन जस्ता विविध सेवाहरु सञ्चालनमा ल्याइसकेको उनको भनाई छ ।

संस्थाले प्रविधिलाई आत्मसात गरेर अगाडि बढेको र सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्न डिजिटाइजेशनलाई उच्च प्राथमिकतामा राखेको शाहको भनाई छ । सदस्यहरुलाई उत्पादनमा जोड्ने र उनीहरुले उत्पादन गरेको वस्तुहरूको विक्रि वितरणको लागि किसान कोप मार्ट सञ्चालनमा ल्याएको छ भने माटो परिक्षण प्रयोगशाला, कोल्डस्टोर तथा सदस्यको कषि तथा गैर कृषि उत्पादनलाई बजारीकरण गर्दै आएको छ । सहकारी मूल्य, मान्यता र सिद्धान्तमा रहेर संस्थाले सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको सेवालाई स्मार्ट तरिकाले अगाडि बढाएका कारण अन्तराष्ट्रियस्तरमा नै स्मार्ट संस्थाको व्राण्ड प्राप्त गर्न संस्था सफल भएको छ। ‘समृद्धिका लागि समुदाय सँगसँगै’ भन्ने नाराका साथ संस्थाले उक्त क्षेत्रमा सदस्य एवं सेवा विस्तार गर्दै जाने प्रतिवद्धता महाप्रबन्धक शाहको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म संस्थाको शेयरपुँजी ४१ करोड ६६ लाख, जगेडा कोष २० करोड ६१ लाख, कुल बचत ३ अर्ब ३० करोड ५ लाख, ऋण लगानी ४ अर्ब २३ करोड ९२ लाख रहेको छ । संस्थाका विभिन्न कोषहरुमा ७० करोड ३६ लाख रहेको छ भने तरलता रकम २३।९९ प्रतिशत गरी कुल सम्पत्ति ५ अर्ब ३५ करोड ९ लाख नाघेको छ । संस्थामा २९० जना कर्मचारी कार्यरत रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *