सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि , ९३ करोड रुपैयाँ बराबरको कारोबार रकम

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने १२ को स्थिर रह्यो । सोमबार कारोबार खुलेदेखि नै बजार बढेको हो । दिनभर कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.७३ प्रतिशत बढ्यो । नेपालमा पर्यटकको संख्या बढेकाले होटलहरुको वित्तीय विवरण राम्रो आउने आशमा लगानीकर्ता यस क्षेत्रमा आकर्षित देखिएका छन् । होटलमा पनि सोल्टीको मूल्य ५.८ प्रतिशत बढ्यो भने सिटी होटलको ५.६, ओरियन्टल होटलको ३.८८ प्रतिशत मूल्य बढ्यो ।

होटलका अलवा अरु सबै क्षेत्रका उपसमूह बढेका छन् । बैंकिङ ६, विकास बैंक ४२, फाइनान्स १३, होटल तथा पर्यटन १८१, जलविद्युत् २५, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ६६, लघुवित्त ९, निर्जीवन बीमा २२१, अन्य २६ र ब्यापार उपसमूह ६९ अंक बढे ।

सोमबार २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *