सामाजिक सञ्जालमा फेक आइडी, ग्रुप खोल्न सरकारले लगायो बन्देज

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा फेक आइडी, ग्रुप खोल्न बन्देज लगाएको छ । फेक आइडी खोलेर न्यूज सेयर गर्ने, कमेन्ट गर्ने गतिविधि नियन्त्रण गर्ने भन्दै सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ जारी गरेको छ ।

गत कात्तिक २३ को मन्त्रिपरिषद्‌ बैठकबाट स्वीकृत सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका जारी गरेको हो । १५ बुँदे निर्देशिकामा सामाजिक सञ्जालमा ‘फेक आइडी’ खोलेर कन्टेन्ट क्रियट गर्न, सेयर तथा कमेन्टसमेत गर्न नपाइने व्यवस्था गरिएको छ ।

व्यक्ति, समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्थामा प्रभाव पर्ने गरीसमेत विषयवस्तु बनाउन नहुने व्यवस्था गरिएको छ । निर्देशिकामा नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म अनिवार्य रुपमा सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्नेछ ।

निर्देशिकामा अबको तीन महिनाभित्र नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल बन्द गर्न सक्ने भएको छ । यस्तै, एक लाखभन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जालहरूले अनिवार्य रूपमा नेपालमा सम्पर्क विन्दु राख्नुपर्ने र त्यसका लागि आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्नेछ ।

केही समयअघि मात्र सरकारले टिकटक नेपालमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सामाजिक सद्भाव बिगारेको र विकृति भित्र्याएको भन्दै सरकारले टिकटक बन्द गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *