राप्रपाको निष्कर्ष- शासन व्यवस्था असफल भइसक्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै सडक आन्दोलन अपरिहार्य रहेको जनाएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले देशको शासन व्यवस्था असफल भइसकेको भन्दै यस्तो निष्कर्ष निकालेको हो । बैठकले राजनीतिक, सामाजिक र आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको र देशको नेतृत्व तथा शासन व्यवस्था असफल भइसकेको भन्दै सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको हो । बैठकले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजी एवं सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ ।

बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दनेले आन्दोलनमा सहकार्यका लागि समान बिचार राख्ने राजनीतिक दल, संघसंस्थाहरु र अभियान्तालाई आह्वान गर्ने निर्णय गरिएको समेत बताए ।

केन्द्रीय कार्यसमितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने जानकारी दिँदै अध्यक्ष लिङ्देनले आजको बैठकले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको बताए ।

साथैै, आजको बैठकले राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन र सम्वादन गर्न पार्टीका राजनीतिक विभाग प्रमुख एवं बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको अध्यक्ष लिङ्देनले बताए ।

त्यस्तै, राप्रपाले इलाममा हुने उपनिर्वाचनको तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ । अध्यक्ष लिङ्देनले राप्रपा नियमावली २०८० का मस्यौदालाई विधान मस्यौदा समितिमा पठाई समितिको रायसहित केन्द्रीय समितिको बैठकमा पेश गर्ने निर्णय भएको पनि बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *