चार महिनामा चार खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भइ तीन अर्ब ६० करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको थियो। समीक्षा अवधिमा चालू खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा चालुखाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको थियो।

यस अवधिमा विदेशी मुद्राको सञ्चिति पनि बढेको छ। आयातमा भएको कमी र रेमिट्यान्समा वृद्धिका कारण विदेशी मुद्राको सञ्चिति बढेको हो। गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति ८.९ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालसँग १२ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेको छ। उक्त सञ्चितिले १३.६ महिनाको वस्तु तथा ११।३ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त छ।

यसैबीच, अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा बिहीबार ललितपुरमा आयोजित ओद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताएका हुन् । राष्ट्र बैंकको समीक्षात्मक प्रतिवेदनले पनि त्यसको पुष्टि गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *