मन्त्रिपरिषद्बाट स्वीकृत भयो राष्ट्रिय बीमा नीति


काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएको बताएका हुन् । ‘प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ, यसले बीमा क्षेत्रको विस्तार र विकास सहयोग पुग्ने छ, यो बीमा क्षेत्रको लागि कोसेढुंगा सावित हुन्छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस कार्यक्रमले प्राधिकरण र पत्रकारबीच सही ढंगले सहकार्य गर्ने आधार तय भएको उनले बताए । बीमा सम्बन्धी समसामयिक विषयमा धारणा विकास गर्न पत्रकारको सहयोग पुग्ने पनि उनको भनाइ छ । यसैगरी बीमा नियमावली २०८० पनि स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश भएको उनले जानकारी दिए । बीमा नियमावली स्वीकृत भएपछि बीमित हित संरक्षण कोष, बीमा विकास कोष, बीमा सुचना केन्द्रहरु स्थापना गर्न बाटो खुल्ने उनले बताए । बीमासम्बन्धी सरोकारवाला व्यक्ति र नाफिजमा आबद्ध पत्रकारहरूको उपस्थितिमा काठमाडौंको छैमलेमा उक्त अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा बोल्ने वक्ताहरूले बीमाको विस्तार गर्न अझै जागरण फैलाउनुपर्ने बताएका छन् । साथै, बीमा कम्पनीहरूले पनि इनोभेटीभ प्रडक्ट ल्याउनुपर्ने र प्राधिकरणले नीतिगतरूपमा सहजीकरण गर्नुपर्ने उनीहरूको भनाइ छ । समापन समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा पहुँच विस्तार गर्न पत्रकार र बीमा क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । बीमा विस्तार गर्ने मामिलामा प्राधिकरण नाफिजसँग थप सहकार्य गर्न तयार रहेको पनि उनले बताए । यसैगरी बीमाको पहुँच सरकारदेखि भुई मान्छेसम्ममा पुग्नुपर्ने उनले बताए । त्यसको लागि पनि पत्रकार र बीमा क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए । ‘सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्छ । तसर्थ, सरकारले आफ्नो भौतिक पुर्वाधार सम्पत्तिलगायत दायित्वको बीमा गर्नुपर्छ । साथै, बीमाको सबैभन्दा बढी आवश्यकता भुइँ मान्छेहरूलाई छ । उनीहरूलाई बीमाको दायरामा ल्याउने काम हामीले गर्नुपर्छ । यसैगरी पत्रकारले तथ्यमा आधारित समाचार लेख्नुपर्ने उनको भनाइ छ । आग्रह तथा पुर्वाग्राहमा आधारित भएर, अनुमानका भरमा समाचार लेख्दा बीमा क्षेत्रको मात्रै नभएर सञ्चार क्षेत्रकै विश्वसनीयतामा प्रश्न उठ्ने उनले बताए । यस्तै, नाफिजका अध्यक्ष मोदनाथ ढकालले बीमा सचेतना बढाउन नाफिज सहकार्य गर्न तयार रहेको बताए ।

प्राधिकरण, नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघ सहकार्य गरेर बीमा जागरण बनाउन नाफिज तयार रहेको उनको भनाइ छ । ‘हामीले यसअघि पुँजीबजार सम्बन्धी जागरण विस्तार गर्न प्रदेशगतरूपमा काम गरिसकेको छौं । अब बीमा सम्बन्धी सचेतना जगाउन पनि सहकार्य गर्न तयार छौं । यस्तै, उनले आर्थिक पत्रकारहरूको क्षमता विकास गर्न र कल्याणकारी काम गर्न नाफिज स्थापना भएको बताए । ‘नाफिज ३०० भन्दा कम आर्थिक पत्रकारहरूको संस्था हो । यो ट्रेड युनियन भन्दा पनि आर्थिक पत्रकारहरुको क्षमता विकास गर्ने र कल्याणकारी काम गर्ने गरी यो स्थापना भएको हो, उनले भने, ‘सोहीअनुसार पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तालिम जस्ता कार्यक्रम गर्दै आएका छौं । कल्याणकारी तर्फ पहिलोपटक सदस्यहरुको कोरोना बीमा गरिएको थियो । अब नाफिज सदस्यहरुको स्वास्थ्य र दुर्घटना बीमा गर्ने तयारीमा छौं । यस्तै, उनले पत्रकारहरूले पढ्ने बानीको विकास गर्नुपर्ने बताए । पत्रकारले अध्ययन गरेमा सरोकारवाला निकाय र व्यक्तिलाई सही समयमा सही प्रश्न गर्न सकिने उनको भनाइ छ । ‘पत्रकारलाई एकदमै छिटो एकदमै सही समाचार प्रसारण गर्नुपर्ने दवाव छ । यद्यपि, त्यसमा समयमा कम्परमाइज गर्न सकिन्छ । ‘सही समाचार दिने बिषयमा कम्परमाइज गर्न हुँदैन । त्यसैगरी नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले अब विद्यार्थीहरूबाट बीमासम्बन्धी चेतना बढाउने काम गनुपर्ने बताए । त्यो मोडेलमा अघि बढे तल्लो स्तरबाटै बीमाको पहुँच विस्तार हुने उनले बताए । ‘हामीले विद्यार्थीमा बीमा सम्बन्धी जागरण ल्याउन सकेमा उनीहरूले घरका अन्य सदस्यहरुलाई पनि बीमाबारे बुझाउन सक्छन् । त्यसले बीमाको जागरण विस्तार गर्न ठुलो सहयोग पुग्छ,’ उनले भने, ‘बीमाका लागि व्यावसायिक बजार पनि ठूलो छ । अब बीमा जागरणसँगै इनोभेटीभ प्रडक्ट लिएर अघि बढ्नुपर्छ । त्यसका लागि हामी नाफिजसँग सहकार्य गर्न तयार छौं । यस्तै, निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि यस कार्यक्रमले बीमा जागरण विस्तार गर्न ठुलो सहयोग पुग्ने बताए । ‘पत्रकारको एउटा धर्म स्पष्टरूपमा सही सूचना दिनु पनि हो । यो कार्यक्रमले पत्रकारहरुमा बीमासम्बन्धी ज्ञान अझै बढेको र त्यसले गर्दा समाजमा बीमाबारे सही सूचना जाने अपेक्षा छ । ‘साथै, हामी नाफिजसँग सहकार्य गरेर बीमा सचेतना बढाउने काम गर्न तयार पनि छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *