नाडा अध्यक्षमा चौधरी र गोल्छाको प्रतिष्पर्धा


काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएनस अफ नेपालले पुस २० र २१ गते ४७ औं वार्षिक साधारणसभा र निर्वाचन गर्ने भएको छ । अटो व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा)को अध्यक्ष पदका लागि करण चौधरी र आकाश गोल्छा आकांक्षी छन् । नाडाका अनुसार पुस २१ गते आगामी दुई वर्षका लागि नाडाको अध्यक्ष एवम् २४ जना केन्द्रीय कार्य समिति सदस्य छानिनेछन् । केन्द्रीय सदस्यमा १७ जना साधारण सदस्यबाट र ७ जना संस्थागत सदस्यबाट चयन हुनेछन् । केन्द्रीय सदस्यहरुले उपाध्यक्षसहितका पदाधिकारी छनोट गर्नेछन् । अध्यक्षका लागि सीजी होल्डिङ्सका करण चौधरी र गोल्छा ग्रुपका आकाश गोल्छा प्रतिस्पर्धी देखिएका हुन् । तर, अहिलेसम्म दुवै पक्ष सहमतिको प्रयासमा छ । सीजीले सुजुकीसँगै केवाईसी र किङलङ ब्रान्डका गाडी बिक्री गरिरहेको छ । गोल्छा ग्रुपले बजाज, केटीएम, फोर्डलगायत ब्रान्डका गाडी बिक्री गर्दै आएको छ । यसअघि सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले पनि आकांक्षा जनाए पनि उनले करण चौधरीलाई समर्थन गरेका छन् । नाडाका वर्तमान महासचिव एवं चौधरीको टिममा रहेका सुरेन्द्रकुमार उप्रेतीले सहमति गरेरै नेतृत्व चयन गर्ने प्रयासमा रहेको बताएका छन् । संस्थामा प्रतिस्पर्धा गर्नुभन्दा पनि सबै एकै हौं भनेर, हामी सहमतिमै नेतृत्व र पदाधिकारी चयन गर्ने प्रयासमा छौं । दुई–चार दिनभित्रै यो कुरा टुंगो लाग्छ होला, महासचिव उप्रेतीले भने । उनले पूर्वअध्यक्ष एवं सबै पदाधिकारीलगायतले सहमति गरेरै अघि बढ्ने भनिरहेको बताए । नाडाका वर्तमान उपाध्यक्ष एवं गोल्छा टिमका निराकार श्रेष्ठले आफुहरु पनि सहमतिकै पक्षमा रहेको बताएका छन् । हामी सबै अटो व्यवसायी एउटै हौं । कुनै प्रतिस्पर्धा गर्नुभन्दा पनि सहमति गरेरै अघि बढ्ने, नेतृत्व चयन गर्ने हाम्रो निष्कर्ष हो । त्यसकै लागि हामीले छलफल र प्रयास गरिरहेका छौं । चाँडै नै टुंगो लाग्छ । नाडाका वर्तमान अध्यक्ष ध्रुव थापाले सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहेको बताएका छन् । उनले भने, चुनाव गर्ने भन्दा पनि सहमतिमै अघि बढ्ने भनेर छलफल गरिरहेका छौं । अझै समय बाँकी छ हामी सहमतिमा पुग्छौं भन्ने विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *