तेस्रो कार्यकालमा सिँगो देश उज्यालो बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढेड वर्षभित्र सिँगो देश उज्यालो बनाउने बताएका छ्न । आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै उनले तेस्रो कार्यकालमा सिँगो देश उज्यालो बनाउने गरी योजना बनेको बताएका हुन् ।

आज (शनिबार) माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भएपनि जसचाहिँ अरुहरुले लिएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरू हाम्रै पालामा भएका छन् । मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु । तर, हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौँ । विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौँ ।’ उनले आफ्नो तीनवटै कार्यकालमा महत्वपूर्ण काम भएपनि त्यसको स्वामित्व लिन नसकिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको साँवा नै मिनाहा गरियो । पूर्व–पश्चिम, उत्तर–दक्षिण परियोजनाहरू अगाडि सारियो । विकासका ठूलठूला आयोजनाहरु सञ्चालनमा आए । प्रत्येक गाविसमा सहकारी निर्माण गरियो । दोस्रो कार्यकालमा उपत्यकामा लोडसेडिङको अन्त्य गरियो । अबको डेढ वर्षमा सिँगो देश उज्यालो हुनेगरी योजना बनिरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डलले तीनमहिने पार्टीको अभियानले जनआधारमा सुदृढ हुँदै गएको र फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढंगले विचार संश्लेषण गरिने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *