काठमाडौं रेजर्स ललितपुर सिटी एफसीसँग पराजित

काठमाडौं । काठमाडौं रेजर्स ललितपुर सिटी एफसीसँग ३–० पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरलाई जित दिलाउन इमोह एजिकीलले दुई र पापा इबोउ केबेले एक गोल गरे । ३६औँ मिनेटमा एजिकीलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखेका थिए । पापा इबो केबेको प्रहार काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बचाए पनि नियन्त्रण गर्न नसक्दा एजिकीलले ट्याप इन गोल गरे । पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा ललितपुरका केबेले अग्रता दोब्बर पारे । निखिल सुरेशरावो कदमले गरेको कर्नर प्रहारमा अनन्त तामाङको हेडरलाई गोल लाइनबाट कुलदीप कार्कीले रोके पनि सोही रिबाउन्डमा केबेले गोल गर्दै ललितपुरको अग्रतालाई २–० मा पुर्‍याएका हुन् । ५२औँ मिनेटमा इमोन एजिकीलले दोस्रो गोल गर्दै ललितपुरको अग्रतालाई ३–० मा पुर्‍याए । निखिल सुरेशरावो कदमले राइट साइडबाट गरेको फ्रिकिकमा बक्सभित्र अनमार्क रहेका एजिकीलले सहजै हेडर गोल गरे । ७४औँ मिनेटमा काठमाडौंका कप्तान अञ्जन राईले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिँदा काठमाडौं १० खेलाडीमा समेटियो ।

ललितपुरका पापा केबेमाथि फाउल गरेपछि अञ्जनले दोस्रो पहेलो कार्डपछि रातो कार्ड पाएका हुन् । एनएसएलकै इतिहासमा ललितपुरविरुद्ध काठमाडौंको यो पहिलो हार हो । अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा पोखराले धनगढी एफसीसँग पेनाल्टी सुटआउट ४–३ को हार बेहोरेको थियो । दोस्रो प्लेअफ बिहीबार दशरथ रंगशालामा नै हुनेछ । खेलमा दुवै टिमले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पाँचौं मिनेटमा काठमाडौंका सुशील कुमार यादवको क्रस मार्की खेलाडी हिसुब थपलियासम्म पुग्न नपाउँदै ललितपुरका अश्विन घोरासैनीले क्लियर गरिदिए । खेलको ११औँ मिनेटमा ललितपुरले गोलको पहिलो अवसर सृजना गरेको थियो । तर, दीनेश हेन्जनको प्रहारले पोस्टको दिशा लिन नसक्दा ललितपुरले अग्रता लिन सकेन । काठमाडौंका किङ्गे जुनियरको अनियन्त्रित बल खोस्दै इमोन एजिकीलले दिएको कट्ब्याक कुनै पनि निगरानीमा नरहेका दीनेशले सदुपयोग गर्न सकेनन् । पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा काठमाडौंले सेटपीस अवसरमा गोल गर्न सकेन । शोखरुख एमको फितलो फ्रिकिक प्रहार ललितपुरका गोलकिपर जेफेरी विली मार्सेलले सहजै बचाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *