गभर्नर अधिकारीविरुद्ध परेको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको छ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले बिहीबार संयुक्तरूपमा रिट दायर गरेका थिए ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरको लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर, बिहीबार दायर उक्त रिटमा अधिकारीको योग्यता स्नातकोत्तर नभएको दाबी गर्दै तत्काल पदबाट हटाउन माग गरिएको छ । गभर्नर अधिकारी चार्टर्ड एकाउन्टेन्ट रहेको र त्यो स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता नभएको पनि रिटमा उल्लेख छ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यताका विषयमा यसअघि पनि सर्वोच्चमा रिट दायर भएको थियो । तर सर्वोच्चले रिट निवेदनको औचित्य सकिसकेको भन्दै थप आदेश जारी गर्नु नपर्ने फैसला गरेको थियो । त्यसयता सेलाएको यो विषय पुनः अदालत पुगेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *