प्रधानमन्त्रीको मन्त्री फेर्ने हल्ला : मन्त्रालयका कर्मचारीले मन्त्रीलाई टेर्न छाडे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठक राखे । उनले मन्त्री र सचिवहरूलाई आफूले दिएको एक वर्षको टास्क पूरा गर्न नसकेको भन्दै आक्रोश पोखे । कतिपय मन्त्रीलाई नामै लिएर उनले सचिवहरूकै अगाडि हुर्मत लिए ।

प्रधानमन्त्री जस्तो व्यक्तिले सचिवहरूकै अगाडि मन्त्रीहरूलाई राम्रो काम गर्ने भए गर नत्र कुर्सी छाड भनेजसरी आक्रोश पोखेपछि सनसनी मच्चियो । नेपाली कांग्रेसका अधिकांश मन्त्रीहरू प्रचण्डको सो व्यवहारले क्रुद्ध बने । अर्थमन्त्री डा.प्रकाशशरण महतले त प्रधानमन्त्रीले सचिवहरूकै अगाडि आफूलाई अपमानित गरेको गुनासो कांग्रेस नेताहरूसँग पोखेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको सार्वजनिक घोषणा गरेका छन् । कार्यकाल एक वर्ष पुगेको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै मन्त्रीहरू परिवर्तन गरेर काँध फेर्ने र प्रभावकारी ढंगले काम गर्ने घोषणा गरेका छन् । उनले मन्त्रीहरूलाई फेरेरै भए पनि सरकार अगाडि बढ्ने बताउन थाले । आज पुस १७ गते भइसक्दा पनि उनले मन्त्रिपरिषद् पुनर्गठन गर्न सकेका छैनन् । पुस २३ गते राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दाखिला गर्ने दिन । त्यसअघि नै निर्वाचन आयोगले आचार संहिता लागू गर्ने छ । माघ ११ गतेसम्म मन्त्री फेर्ने, नियुक्ति, सरुवा बढुवा सबै रोकिन्छन् ।

त्यसअघि नै मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना टर्दै गएपछि अहिले कुनै पनि मन्त्रालयका कर्मचारीले मन्त्रीलाई टेर्न छाडेको बताउन थालिएको छ । प्रधामन्त्रीले ‘मन्त्रीहरू परिवर्तन गर्छु’ भनिरहँदा सरकारी काम प्रभावित हुन्छ भन्ने कुराको ध्यान नदिँदा यस्तो अवस्था आएको छ । मन्त्री परिवर्तन गर्ने कुरा एक घन्टा अगाडि भन्नुपर्नेमा एक महिनाअघिबाटै प्रधानमन्त्रीले घोषणा गरेर हिँड्न थालेपछि मन्त्रीलाई कर्मचारीले अटेरी गर्न थालेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठकमा टिप्पणी गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूसँग छलफल गरे पनि अझै टुंगोमा पुगिसकेको अवस्था छैन ।

प्रधानमन्त्रीले ११ वटा मन्त्रालयको नतिजा खराब देखेपछि सबै मन्त्री परिवर्तन गर्ने गरी तयारी गरेका थिए । यदि कांग्रेस र एकीकृत समाजवादी मानेनन् भने पनि प्रधानमन्त्रीले आफ्नै पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सेट लैजाने तयारी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *