राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन दलहरुको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठक आज बस्दै छ ।

राष्ट्रियसभा निर्वाचनका लागि सीटको भागबण्डा टुंग्याउन आज दिउँसो ३ बजे बालुवाटारमा बैठक बस्ने भएको हो । आज बिहान बसेको माओवादी र कांग्रेसका शीर्ष नेताहरुको छलफलले गठबन्धनको बैठक बसेर सिटको भागबण्डा टुंगो लगाउने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सत्ता गठबन्धन दलहरुबीच आफ्नो रिक्त भएको पद जोगाउँदै एमालेको ९ पदमा भागबन्डा गर्ने सहमति भइसकेको छ । यद्यपि, संख्या टुंग्याउन सकेका छैनन् । १९ सीटमध्ये कांग्रेसलाई ९, माओवादीलाई ६, नेकपा एसलाई ३ र जसपालाई १ सीट दिने गठबन्धनमा प्रारम्भिक प्रस्ताव छ । त्यसो हुँदा राष्ट्रपतिबाट मनोनीत हुने एक सीट पनि कांग्रेसकै हुनेछ ।

तर, जसपा र नेकपा एसले थप एकएक सीट पाउनुपर्ने अडान राखेका छन् । चार ठूला दलहरू राष्ट्रियसभामा नागरिक उन्मुक्ति, लोसपा, जनमतलाई भाग नदिने पक्षमा छन् । तर, उनीहरूले गठबन्धनमा आफ्नो हिस्सा पाउनुपर्ने अडान राखेका छन् ।

साना दलहरूले पनि आकांक्षा राखेपछि गठबन्धनमा सीट भागबण्डा पेचिलो बन्दै गइरहेको छ । यता राष्ट्रियसभाको अध्यक्षमा पनि कांग्रेस, माओवादी र नेकपा एसले दाबी गर्दै आइरहेका छन् ।

यता, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेटेर जाने गरी गृहकार्य चलाइरहेका छन् । त्यसैले उनले आजै साँझ एमालेसँग पनि संयुक्त छलफल गर्ने तयारी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *