कोशीमा आज सभामुखको निर्वाचन हुदै

विराटनगर । पाँच महिनादेखि सभामुखविहीन रहेको कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ ।

मंगलबार बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठलके आजै सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारका अनुसार आज ३ बजे सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय भएको हो । सभामुख चयन गर्न सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको बैठक आज बिहानैदेखि चलिरहेको छ ।

गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त छ । गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए । अब सत्तारूढ गठबन्धनको सहमतिअनुसार सभामुख राप्रपाले पाउनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा राप्रपालाई सभामुख दिन तयार देखिएका हुन् ।

राप्रपाले आफ्ना सांसद अम्बरबहादुर विष्टको नाममा सहमति जनाइसकेको छ । राप्रपाले झापाका प्रदेशसभा सदस्य विष्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको हो । सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।

सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस र एमालेको संसदीय दलको बैठक जारी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *