दाङ बस दुर्घटना : १२ जनाको मृत्यु, मृतकको सनाखत

बुटवल । गएराति दाङको राप्ती नदीमा बस खसेर दुर्घटना हुँदा घाइते भएका सबैको परिचय खुलेको छ ।

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित राप्ती नदीको पुलबाट खसेर दुर्घटना भएको थियो । बसमा सवार ३५ यात्रुमध्ये १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते छन् । घाइते सबैको परिचय खुलेको दाङका डिएसपी जनक मल्लले जानकारी दिए ।

मृत्यु भएका ८ जनाको सनाखत भएको छ भने अन्य ४ जनाको बाँकी छ । दुर्घटनाका घाइते भएकामध्येृ १४ जनाको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनाको बुटवल र दुई जनाको दाङमै उपचार भइरहेको छ । प्रहरीका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा बसका सहचालक बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ३१ वर्षीय कुलबहादुर गोसाई, बाँकेको नेपालगंज उपमहानगरपालिका–१९ का ३५ बर्षीय लिला वली, अर्का सहचालक बाँकेको बैजापर गाउँपालिका–३ का २१ बर्षीय शंकर थारु, भारतको बहराईज मटेराका २८ बर्षीय राहुल कुमार यादव र २० बर्षीय छोटी सलौटा, कालिकोटको माहाबै गाउँपालिका–५ का ४५ बर्षीय तिलकप्रसाद उपाध्याय, बाँकेको नेपालगंज उपमहानगरपालिका–१२ का २४ बर्षीय आसतोस गौतम र बाँकेको डुडुवा गाउँपालिका– १ का २५ को मोहमद जावेद रहेका छन् ।

त्यस्तै, बर्दियाका २२ बर्षीय साजिव थारु, बाँकेका १८ बर्षीय दशरथ विक, बाँकेकै १९ बर्षीय निफख खान, डोल्पाका ३५ बर्षीय धनकली बढा, बाँकेका २० बर्षीय कोरिन्जन कोरी र बाँकेका २० बर्षीय अवाज नाउको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ७ जनालाई बुटवल पठाइएको छ । बुटल पठाइएका घाइतेहरूमा काठमाडौंको चाविहलका ४४ बर्षीय सुवास सार्की, रौतहटका २६ बर्षीय संजय कार्की, जुम्लाका १९ बर्षीय विशाल बोहोरा, काठमाडौंकै ११ बर्षीया आज्ञा पाण्डे, ३८ बर्षीया मञ्जु शर्मा, २३ बर्षीय सन्जु बढवाल र ४५ बर्षीय राधा पाण्डे रहेका छन् ।

यस्तै, जुम्लाको हिमा गाउँपालिका–४ का २० वर्षीय बालकृष्ण शाही र बाँकेको कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगरको भालुवाङमै उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक सल्यानको त्रिबेणी गाउँपालिका–४ का २८ बर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

मृतकहरूमा बाँके नेपालगंजका ६० बर्षीया कुसुम बनेत, मकवानपुर हेटौडाका ३९ बर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका–१५ का ६५ बर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ बर्षीय मुने, जुम्लाको श्रीढुम्का–९ का ४० बर्षीय मुनबहादुर रावत, बाँकेका ३० बर्षीय रामबरण हरिजन, रुकुमको साबिक गोतामकोट गाबिस–९ का २५ बर्षीय दपक कामी, भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ बर्षीय योगेन्द्र राम जोगेन्द्र राम छन् ।

त्यस्तै, नाम थर र वतन नखुलेको अन्दाजी ३५ बर्षीय पुरुष, ५२ बर्षीय पुरुष, ३० बर्षको पुरुष र ४५ बर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको डिएसपी मल्लले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *