वन्यजन्तुसँगको समस्या मिलेर हल गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव–जनावरबीचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताएका छन् ।

बाँसगढी औद्योगिक व्यापार मेलाको उद्घाटनमा पुगेका उनले समस्या समाधानमा सरकार गम्भीर रहेको बताए । निकुञ्ज क्षेत्रको विकाससँगै बढेका वन्यजन्तु बासस्थान तथा आहाराको खोजीमा बाहिर निस्कँदा आसपासका बस्तीका बासिन्दालाई परेको समस्याबारे सरकार जानकार रहेको उनको भनाइ थियो । बर्दिया निकुञ्ज क्षेत्र आसपासका बासिन्दालाई वन्यजन्तुको आक्रमण र बाली खाइदिएर गर्ने क्षतिको निकै समस्या छ ।

बाघको आक्रमणमा गाउँले मारिएका घटना बारम्बार हुने गरेका छन् । यसको समाधानका लागि स्थानीय बासिन्दासँग स्थानीय तह, प्रदेश र संघीय सरकारले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए । उनले लुम्बिनी प्रदेशको अन्न भण्डारका रूपमा रहेको बर्दियामा सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण शीघ्र सम्पन्न गरी कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

उनले भने,‘म यहाँका धेरै सम्भावना र समस्याबारे परिचित छु । खासगरी खुला सीमा नाकाका कारण यहाँ विभिन्न किसिमका घुसपैठ भई समय समयमा विभिन्न किसिमका अपराधका घटना घट्ने तथा लुकीछिपी हुने चोरी निकासी पैठारीले स्थानीय तहमा स्वच्छ व्यापारलाई फस्टाउनमा व्यवधान सिर्जना गरिरहेका छन् । यसलाई हामी सबैले मिलेर नियन्त्रण गर्न जरुरी छ।’

संघीय सरकारले बनाउने केही कानुन निर्माणमा ढिलाइ भएको भए पनि अब आउने हिउँदे अधिवेशनमा सरकारले आवश्यक कानुन बनाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *