माघ लागेसँगै मनाङको तापक्रम माइनस २२ डिग्री

मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरुपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भएपनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ । खोलानालामा पूर्णरूपमा पानी जमेको छ । हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन । सवारीसाधनको आवतजावत न्यून छ । पिउने पानी जोहो गर्नै मुस्किल छ ।’ चिसो पनि उसैगरी बढ्दै गएको उनले बताए ।

चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए । मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उनले बताए । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले जानकारी दिए । उनले भने, ‘अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेकका अन्य बन्दजस्तै नै छन् ।’

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *