यू-१९ विश्वकप : नेपालको दोस्रो हार ,पाकिस्तानसँग पराजित

काठमाडौँ । जारी यू-१९ क्रिकेट विश्वकपमा हिजो सम्पन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

हिजो (बुधबार) सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । नेपालले दिएको १९८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानको जितमा अजान अवैसले अविजित ६३ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै शामल हुसैन र शाहजैब खानले ३७-३७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर आकाश चन्दले ३ विकेट लिएका थिए भने आकाश त्रिपाठी र दिपेश कँडेलले एक एक विकेट लिएका थिए । यसअघि समुह डी अन्तर्गतको खेलमा नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै १९७ रन बनाएको थियो ।

नेपालका लागि विपिन रावलले सर्बाधिक ३९ रन बनाएका थिए । त्यस्तै दीपक डुम्रेले २६ रन बनाए भने कप्तान देव खनालले २३ रन बनाएका थिए । त्यस्तै गुलशन झाले १८, दिपेश कँडेलले १३, सुबास भण्डारीले २० रन बनाएका थिए । त्यस्तै अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाए भने उत्तम मगरले ४ तथा आकाश चन्दले अविजित १६ रन बनाएका थिए ।

यस खेलमा पाकिस्तानका बलरले २४ रन अतिरिक्त दिएका थिए । त्यसैगरी पाकिस्तानका बलर अराफात मिनहासले सर्बाधिक ३ विकेट लिएका थिए भने अहमद हुसैन र उबैद शाहले २-२ विकेट लिएका थिए । त्यसैगरी खुबैब खलिल, मोहमद जीशान र अलि असफन्डले एक एक विकेट लिएका थिए ।

यो जितसँगै पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ । समुह डी मा पाकिस्तान र न्यूजील्याण्डले २-२ खेल जितेर सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् । अब नेपालले जनवरी २६ मा अफगानिस्तानविरुद्ध खेल्ने छ । सो खेलको विजेता पनि सुपर सिक्समा पुग्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *