सहारा नेपाल साकोसको सहयोगमा जेष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न

झापा । चारपानेमा केन्द्रीय कार्यालय रहेको र सदस्य संख्याका आधारमा देशकै सबैभन्दा ठुलो सहकारी संस्था सहारा नेपाल साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिकाका ७ बटै वडामा जेष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका बडा नं. ५ मा निर्माण गरिएको जेष्ठ नागरिक चौतारीको उद्घाटनको अवसरमा आयोजित समारोहमा बताइए अनुसार बुद्धशान्तिका सबै बडामा चौतारी भवन संचालनमा आएका छन् । सो भवनको गाउँपालिका अध्यक्ष मनोज प्रसाईले उद्घाटन गर्दै बुद्धशान्ति गाउँपालिका जेष्ठ नागरिकमैत्री पालिकाको बाटोमा अगाडि बढेको बताए । हालसम्ममा यस प्रकारका २५ बटा जेष्ठ नागरिक चौतारी निर्माण पूरा भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । यस कार्यक्रम अन्तरगत संस्थाको यो वर्ष थप ३ वटा यस्ता भवन निर्माण गरिने योजना रहेको बताइएको छ । समाजमा जेष्ठ नागरिकप्रति गरिने व्यवहारमा परिवर्तन गरेर उनीहरुको सहज जीवन यापनका लागि सजिलो बनाउन यस्ता चौतारी भवन उपयोगी सावित भएको सहारा नेपाल साकोसका संचालक समिति सदस्य भोला धितालले जनाए । उनका अनुसार ती भवन निर्माणका लागि संस्थाले ७ लाख रुपैयाँ र भौतिक सामाग्री उपलब्ध गराउने गरेको छ ।

त्यस्ता भवन बनाउन गाउँ पालिका वा नगर पालिकाले १० लाख रुपैयाँ छुट्याउने र जग्गाको व्यवस्था स्थानीय रुपमै गर्नुपर्ने नियम छ । पूर्वको झापा, मोरंग, सुनसरी, इलाम, उदयपुर र पाँचथर जिल्ला कार्यक्षेत्र रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ नागरिकहरुको खुसीका लागि यो काम अगाडि बढाएको सो संस्थाका जेष्ठ नागरिक उप समिति संयोजक राप्रसाद रोक्काले बताए । उनका अनुसार संस्थाले यस्ता चौतारी भवनलाई बहुउपयोगी बनाउने र लर्निंग सेन्टरको रुपमा विकसित गर्ने र जेष्ठ नागरिकहरुलाई समय कटाउने ठाउँ मात्र नभई आय आर्जनका लागि पनि उपयोग गर्ने तयारी भइरहेको छ । संस्थाका कार्यकारी प्रमुख गिरीको भनाईमा त्यस्ता जेष्ठ नागरिक भवनहरुलाई आ आफ्ना उत्पादनहरुको बिक्री गरेर आम्दानी गर्ने थलोको रुपमा विकसित गर्ने, त्यसका लागि स्थानीय तह र समुदायसँग छलफल भइरहेको छ । अहिलेसम्म त्यस्ता चौतारी भवनमा जेष्ठ नागरिकहरु समय कटाउन र आराम गर्न आउने गरेका छन् भने इन्टरनेटको माध्यमबाट देश बिदेशमा रहेका आफन्तहरुसँग कुराकानी गर्ने गरेका छन् । साथै गाउँघरमा हुने कतिपय कार्यक्रम ती भवनमा हुने गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *