अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन अधिकृत मीनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार विशेष अदालतमा मुदा दायर गरिएको हो । उनले १५ वर्षको अवधिमा गैरकानुनी रूपमा चार करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ आर्जन गरेको अख्तियारको ठहर छ । पछिल्लो समय भट्टराई मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत थिए । भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५४ साउन २६ गतेदेखि ०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानमा समेटिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । उक्त अवधि भट्टराईको वैध आय पाँच करोड ९४ लाख ६७ हजार १ सय ४८ रुपैयाँ देखिएको छ । सोही अवधिमा उनले १० करोड २३ लाख ९२ हजार २ सय ८८ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ । दायर मुद्दामा भट्टराईसँग चार करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ बिगो दाबी गरिएको छ । यस्तै, भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति कान्छी श्रीमती झुनाकुमारी कठेत समेतको नाममा राखेको पाइएको अख्तियारले जनाएको छ । उनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *