आज आहा रारा गोल्डकप उपाधि भिडन्त

पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित आहा रारा पोखरा गोल्डकपको प्रतियोगिताको २३औँ संस्करणको फाइनल खेल आज शनिबार हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब पोखरा रङ्गशालामा आमनेसामने हुनेछन् । त्रिभुवन आर्मी क्लब हालसम्म चार पटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि विमुख छ । प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगेको आर्मी शनिबार पोखराको मैदानमा ओर्लिदा उसको मुख्य लक्ष्य च्याम्पियन बनेर इतिहास रच्ने हुनेछ । थ्रिस्टार क्बल भने पोखराको मैदानमा भाग्यमानी टोलीमा पर्छ । मनाङ मर्स्याङ्दी क्लबपछि आहा राराको सर्वाधिक धेरै उपाधि जित्ने टोली हो थ्रिस्टार । थ्रिस्टारले हालसम्म पाँच पटक उपाधि जितिसकेको छ भने शनिबार छैटौँ उपाधिको खोजीमा हुनेछ । थ्रिस्टार यसअर्थमा पनि भाग्यमानी छ कि उसले फाइनलमा पुगेर एक पटक मात्र उपाधि जित्न सकेको छैन । अन्य सबैमा सफलता पाएको छ ।

आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ सालमा प्रतियोगिताको फाइनल पुगे पनि चारैपटक उपाधि जित्न सकेन । पछिल्लो पटक आर्मी र थ्रिस्टार २०७५ सालमा फाइनलमा भिडेका थिए । तत्कालीन समयमा टाइब्रेकरमा थ्रिस्टार च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँच वर्षपछि थ्रिस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रिस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा प्रतियोगिताको उपाधि चुमेको छ । प्रतियोगितामा हालसम्म सात पटक फाइनल पुगेको थ्रिस्टार २०७४ को १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पोखरामा आफ्नो गौरवपूर्ण विरासतलाई निरन्तरता दिन चाहन्छ थ्रिस्टार । प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने खोजीमा थ्रिस्टार हुनेछ । आर्मीका प्रशिक्षक मेघराज केसी विगतको इतिहासलाई विर्सदै नयाँ इतिहास रच्ने टोलीको सपना रहेको बताउँछन् । पोखराको मैदानमा उपाधि जितेर आर्मीका समर्थकलाई खुशी दिने आफ्नो योजना रहेको उनले सुनाए, ुहामी इतिहास दोहोर्‍याँदैनौँ, नयाँ इतिहास रचेर समर्थकलाई खुसी दिनेछौँ । प्रशिक्षक केसीले फाइनल खेल रोमाञ्चक हुने दाबी गरे । टोलीमा केही इन्जुरीको समस्या रहे पनि खेलाडी पर्याप्त रहेको उनको भनाइ छ । थ्रिस्टार क्लबका प्रशिक्षक विक्रम लामाले सेमिफाइनलका कमीकमजोरी सुधार गर्दै उपाधि जित्ने गरी फाइनल खेलमा उत्रिने बताए । उपाधि जित्ने योजना बनाएको उनले बताए । प्रशिक्षक लामाले भने,आर्मीको टोली संगठित छ, फाइनल खेल पक्कै गाह्यो हुनेछ तर हामी उपाधि चुम्ने गरी खेल्नेछौँ । लामाले आफू खेलाडी हुँदा जितेको उपाधिलाई प्रशिक्षक हुँदा निरन्तरता दिने बताए । पोखरामा जारी प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलमा राइजिङ स्टार फुटबल क्लब, क्वाटरफाइनलमा संकटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनल यात्रा तय गरेको हो । थ्रिस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हरायो भने क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले ६ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले बताए । यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *