सूर्यदर्शन सहकारी प्रकरणमा भट्टराईलाई पुर्पक्षका लागि कारागार पठाउन अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सोमबार न्यायाधीश रामचन्द्र शर्माको एकल इजलाशले भट्टराईलाईपुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

सुनसरी जिल्ला, इनरुवा नगरपालिका ५ घर भएका भट्टराईलाई काठमाडौं प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ परेका उनलाई शुक्रबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अहिले भट्टराई सहित सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको संख्या ५ पुगेको छ ।

सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याललाई यसअघि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीहरुलाई अहिले पुर्पक्षका लागि थुनामा नै राखिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेपछि राईसहित १४ जना अहिले फरार सुचीमा रहेका छन् । सूर्यदर्शनका पदाधिकारीमाथि बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहन थापाका अनुसार माघ २२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित थप व्यक्ति तथा संस्था गरी १८ जनाविरुद्ध छानबिन गर्न सहकारीका बचतकर्ताले पूरक जाहेरी समेत दिएका छन् । बचतकर्ताले दिएको पूरक जाहेरीबारे अनुसन्धान प्रक्रिया अघि बढाइने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *