कथित माओवादी जनयुद्ध धनयुद्ध मात्र भएको प्रमाणित

माओवादी द्धन्द्धको दश बर्षे कालो युगलाई लिएर फेरि एकपटक मुलुक गंभीर विवादमा फस्न पुगेको छ । माओवादीहरु त्यसलाई जनयुद्ध भन्छन् भने राजनीतिक शास्त्रीहरु त्यसलाई जनयुद्ध त के सामान्य युद्धसम्म मान्न तयार छैनन् ।

फागुन १ गतेलाई जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिने सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्टायाइदिएपछि तिल्मिलाएका माओवादी अहिले अदालतविरुद्ध नै तथानाम गर्दै बकवास गरिहेका छन । जनयुद्धको उपलब्धी चाँहि मान्ने जनयुद्ध चाहि न मान्ने भन्दै माओवादीका केही उरन्ठेउला केटाहरु जनयुद्ध दिवसलाई सरकारी मान्यता दिलाउँन लागि परेका छन् । नेताहरु नै पनि फागुन १ गतेको सार्वजनिक विदा खारेज गर्ने अदालतको निर्णयमाथि पुनः विचार गर्नुपर्ने तर्क गरिरहेका छन । अदालतले उल्टयाएको सार्वजनिक बिदालाई चुनौति दिदैँ केही पालिकाहरुले आफ्नो पालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरे । तर त्यस्तो निर्णय पनि विवादमुक्त भने रहन सकेन ।

फागुन १ को विदालाई लिएर पालिकाहरु नै विवादमा परे । माओवादी प्रभावमा रहेको ठानिएको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा प्रमुखले सार्वजनिक विदा दिने गरी विज्ञप्ती जारी गरे लगतै उपप्रमुखले विदा नभएको अर्काे विज्ञप्ती जारी गरिन् । माओवादी प्रमुख उपप्रमुख दुवै रहेका पालिकामा समेत वडाअध्यक्षहरुले विदा अस्विकार गरे ।
त्यसैगरी कतिपय वडाध्यक्ष मात्र जित्ने माओवादी कार्यकर्ताहरुले आफ्नो वडाभित्रका सार्वजनिक कार्यालय बन्द रहने सुचना जारी गरे । यसरी यो समस्या वडादेखि केन्द्रसम्मै पुग्यो । माओवादी सत्तामा गएपछि जनहित र राष्ट्रहितको काम नगरेपनि आफ्नो कार्यकर्तालाई चित्त बुझाउन यस्ता गलत र देखावटी काम भने प्रशस्तै गरेको छ । त्यस्ता कामले जनतालाई थप समस्यामा पार्ने र पीडा दिने अवस्था नै आएको छ ।

पुष्पकमल दाहाल (प्रचण्ड) पछिल्लो पटक प्रधानमन्त्री भएर आएपछि लडाकुहरुलाई थप दुई दुई लाख दिने निर्णय गरे । माओवादी हिंसा परित्याग गरी शान्तिपुर्ण राजनीतिमा फर्कदा राज्यले लडाकु शिविरका लागि दिएको रकम दुरुपयोग काण्डले निकास नपाउँदै लडाकुलाई बाँडिएको रकमको सम्बन्धमा पनि गंभीर विवाद उत्पन्न भयो । माओवादी दशवर्ष हिंसाको कालरात्रीलाई आज पनि आफ्नो आदर्श मान्दैछ । जबकि त्यो डरलाग्दो आतंक र हिंसा सिंगो राष्ट्रकालागि कहिल्यै पनि विर्सन नसकिने कालरात्री थियो । दश वर्षसम्म माओवादी मुख्य नेताहरु भारतमा बसेर देशमा हिंसा , आतंक , लुटमार, हत्या र विध्वंस जस्ता आततायी गतिविधि गरेको थियो । सरकारी , निजी र सार्वजनिक सम्पति ध्वंश गर्ने कार्यले मुलुक एकसय वर्ष पछि परेको थियो । वादरमुँडे, भण्डारा, खरिढुंगा र लालवन्दीमा गुडिरहेका बसमाथि आगजनि र विष्फोटनगरी मच्चाएको आतंकलाई जनयुद्ध भन्ने आधार के छ ? सर्वसाधारणलाई लुट्ने , तिनका नावालक छोराछोरीलाई हिंसामा प्रयोग गर्नु, तिनका घरवास नष्ट गर्नु जनयुद्ध हो ?

हुनतः युद्ध आफैंमा जनहितकारी हुँदैन । स्वतन्त्रता संग्राम र मुक्ति आन्दोलन विवेकहिनहरुको स्वार्थसिद्धिका साधन बन्दैनन् । तर यु्द्द आफैँमा अप्रिय, असमान व्यवहार र अन्यायको पर्याय हो । आजसम्म दुनियाको कुनै पनि युद्धले न्याय स्थापित गर्न सकेको छैन । न त युद्ध गर्नेहरुको व्यवहार नै न्यायपुर्ण छ । स्वतन्त्रता र मुक्तिको लागि लड्नेहरु युद्धका ठेकेदार हुदैनन् । सन १९२७ देखि १९४९ सम्म चलेको चिनीया स्वतन्त्रता आन्दोलनमा स्वयम माओत्से तुङ, चाउएनलाई चुतेह , लिनपियाओ, देंगसियायो पिङ जस्ता ठुला नेता सहभागी थिए । भियतनाममा होचि मिन्ह , कोरियामा किमइलसुङ र क्युवामा फिडेल क्यास्ट्रो अग्रपतिमा रहेर मुक्ति अभियान सञ्चालन गरेका थिए ।

तर नेपालमा प्रचण्ड बावुराम , मोहन वैधजस्ता नेता भनिएकाहरु टाउँको लुकाएर बसेका थिए । भारतीय गुप्तचर संस्था र को निर्देशन मान्ने र दिल्लीमा पाँचतारे होटलमा बसेर नेपालमा ताण्डव तृत्य गर्नेलाई बोकेर आजको नेपालको दशा यस्तो भएको हो भन्ने आम विश्वास छ । स्कुल कलेजमा आगो लगाउने, स्वास्थ्य चौकी , गाविस भवन , हुलाक विद्युत उत्पादन केन्द्र, सामुदायिक भवन , सामुदायिक बनका भवन , व्यक्तिको सम्पति , घर आगजनि र विष्फोटनद्वारा नष्ट गर्ने कार्यलाई जनयुद्ध भनिन्छ भन्ने बुझाई आज सर्वसाधारणको बन्न पुगेको छ । गाँउगाँउबाट जनताको सेवामा समर्पित सरकारी कर्मचारीलाई विस्थापित गरेर त्यहाँ जंगलीराज चलाउनेले आज प्राप्त उपलब्धी हाम्रै कारणले भएको हो भन्न लजाउँनु पर्दैन त ? विद्यार्थी, शिक्षक, तल्लोतहका सरकारी कर्मचारी , सुरक्षाकर्मी आदिलाई नृशंस ढंगले गरेको हत्या जनयुद्ध हो ? घाँसदाउरा गएका, मेलापातमा रहेका, भात खाँदै गरेका , सुतिराखेका , क्रियापुत्री आदिलाई छपाछप काट्नुलाई जनयुद्ध भन्ने र त्यसको महिमा गर्न गर्नु पर्ने हो भने अव नेपालमा जंगलीराजको साम्राज्य कायम भयो भनेर वुझ्नुपर्छ ।

मान्छेका सम्पुर्ण अधिकार वाँच्न पाउने , हिडड्डल गर्न पाउने, बोल्न , लेख्न , मेला हुने, सभा संगठन गर्न सारा अधिकारमाथि कठोर बन्देज लगाएर तिनका लठैतका प्रबन्धन सुन्ने उर्दि जारी गर्नेलाई महान क्रान्तिकारी , देशभक्त र स्वतन्त्रताका इत ठान्नु उचित हुन्छ र ? पाँचवर्षको बालकदेखि चौरासी वर्षका बृद्धसम्मको हत्या गर्ने माओवादीले अहिले पनि आफ्नो आचरण अनुसार नै काम गरिरहेको छ । निशस्त्र निरिह र निरपरन्धमाथिको जघन्य अपराध त दण्डयोग्य पो हुनुपर्ने हो अभिनन्दन र पुरस्कार को हकदार कसरी हुन्छ ?

अब माओवादी स्वयमले दशवर्षको विवेकहिन हिसांको समिक्षा गर्नूपर्ने बेला भएको छ । उसले त्यो अवधिमा गरेका कुनै पनि काम गौरव गर्न लायक छैन , देशको हित भनेको सार्वभौमिकताको रक्षा उन्नति र प्रगतिको मार्ग प्रशस्त गर्नु र जनतालाई सहज तरिकाले जीउँने वातावरण वनाउनु हो । तर माओवादी द्धन्द्धकालमा त्यस्तो कतै पनि भएको छैन ।
त्यसकारण दशवर्षे विवेकहिन हिसांको विपक्षमा माओवादी स्वयमले कठोर समीक्षा गर्न तयार नभएपछि नेपाली कांगे्रस, नेकपा (एमाले) मधेशवादी दल , राप्रपाआदि सबैले तथ्य गुमराह गरेर सत्ता स्वार्थ सिद्धि गर्ने भुल गर्नु हुदैन । अहिले माओवादीलाई बोकेर छुद्र स्वास्र्थको पछाडि दौड्नेले भविष्य पनि हेर्नुपर्छ । पोलपोट , र व्युसाङपाङको दशा प्रचण्ड बावुरामको हुदैँन भन्ने केही ग्यारेण्टी छैन । शान्तिको शर्तमा मात्र आफ्नो अजश्र पीडा , वेदना र दुःखलाई दवाएर राख्ने जनताले अब जुरमुराएर उठने बेला भएको छ । त्यति महंगो मुल्यमा पाएको माओवादी हिसां र त्रासबाट मुक्ति सही अर्थमा शान्ति बन्न सकेको छैन । आज पनि हिसांमा फर्कने ध्वाँस दिएर जनतालाई त्रसित गराउने प्रयास भैरहेको छ ।

कथित जनयुद्ध दिवसमा पनि केही आततायीले खुलेरै फेरी कथित जनयुद्ध लड्न तयार रहेको बताए । यसबाट पनि माओवादी र उसको नियत के रहेछ भन्ने ज्ञान हुन्छ । राजनीतिक दलहरुले त्यसलार्ई नजरअन्दाज गरे भने जनताले मनन् गर्नुपर्छ । र , कसरी स्वतन्त्रता र मुक्तिप्राप्त हुन्छ भन्ने वुझ्नुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *