हिन्दूराष्ट्र अभियानका नेता देउवा निवासमा, जुट्यो ८ सय पचास सदस्यको हस्ताक्षर

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरू सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् ।

अभियानको प्रस्तावलाई औपचारिक रूपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरूको माग रहेको छ । बुढानीलकण्ठमा बुधबार भएको भेटमा देउवाले जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्न सुझाव दिएका छन् ।अभियानले हालसम्म ८ सय पचास महासमिति सदस्यहरूको हस्ताक्षर जुटाइसकेको छ । हजार सदस्यहरूको हस्ताक्षर जुटाउने लक्ष्य रहेको अभियानका सदस्यले बताए ।

बहुमत सदस्यहरूको हस्ताक्षर जुट्न सकेमा औपचारिक प्रस्तावका रूपमा अभियानको एजेन्डा महासमितिमा प्रवेश गराउने अभियन्ताहरूको रणनीति छ । यो अभियानलाई नेपाली कांग्रेसकै जनजाति, मुस्लिम भ्रातृ संगठन र केही शीर्ष नेताहरूले असहयोग गरिरहेको अभियानका सदस्यको भनाई छ । मंगलबार पूर्वमहामन्त्री एवं केन्द्रीयसदस्य डा सशांक कोइराला र पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाटले पनि हस्ताक्षर गरिसकेका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गरेका थिए । महासमिति बैठकमा हिन्दु राष्ट्रका बारेमा प्रतिनिधिहरूले व्यक्तिगत धारणा राख्ने जनाएका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्तर्गत हस्ताक्षर संकलन गरिएको हो ।

महासमिति बैठकको उद्घाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले बैठकको सभा हल अगाडी वैदिक सनातन हिन्दुराष्ट्र नेपाल’को पक्षमा हस्ताक्षर अभियान जारी राखेका छन् । अभियानको प्रस्तावलाई औपचारिक रुपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने उनीहरुको माग रहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *