महासमितिमा जिम्मेवार व्यक्तिहरू त्यति सचेत भएजस्तो देखिएन

भर्खरै सम्पन्न कांग्रेस महासमिति बैठक कस्तो रह्या, गठबन्धनको भविष्य के होला, माओवादीको विधान सम्मेलनअघि प्रचण्डले कांग्रेसबाट धोका भयो भन्ने कुरा गर्नुभयो । गठबन्धनमा खटपटको संकेत हो आदि सेरोफेरोमा नेपाली कांग्रेसका नेता तथा सांसद उदयशमशेर जबरासँग सत्याग्रह साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः

  • भर्खरै सम्पन्न कांग्रेस महासमिति बैठक कस्तो रह्यो ?

महासमितिमा विभिन्न विषय र प्रस्तावमा सौहार्दपूर्ण छलफल भयो । अधिकांश साथीले छलफलमा भाग लिने मौका पनि पाउनुभयो । तर, कतिपय विषयमा चाहिँ महासमिति परम्परागतजस्तो मात्र भयो । महासमितिमा प्रस्तुत भएका र छलफलका क्रममा उठेका सबै विषयमा खुला छलफल गरेर निष्कर्षसहित निर्णय गर्नु महासमितिको सार्वभौम अधिकार हो । तर, कतिपय विषयमा केन्द्रीय समिति हाबी भएको देखियो । महासमितिबाट के निचोड निकाल्न खोजिएको थियो र के परिणाम निस्कियो भन्ने विषयमा जिम्मेवार व्यक्तिहरू त्यति सचेत भएजस्तो देखिएन ।

  • महासमितिमा गठबन्धनबारे चर्को बहस भयो । गठबन्धनको भविष्य के होला ?

अहिलेको सत्ता गठबन्धन कायम रहँदा कुनै आपत्ति छैन । किनकि, अहिलेका लागि गठबन्धनको विकल्प छैन । यसो भनिरहँदा पनि गठबन्धनमा रहेका दल र सत्तामा रहेका नेताहरू सुध्रिन भने आवश्यक छ । तर, अहिलेलाई गठबन्धन आवश्यक छ भन्दै गर्दा निर्वाचनमा भने गठबन्धन गर्नै हुँदैन भन्ने महासमितिको प्रस्ट आदेश छ । यसमा नेतृत्वले दायाँबायाँ गर्न पाउँदैन ।

  • वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिमा सरकारको काम गराई र जनअपेक्षालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

गएको वर्षको आमचुनावपछि वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिमा धेरै महत्त्वपूर्ण काम भएका छन् । जोखिममा रहेको अर्थतन्त्रलाई केही प्रयत्न गरेर सही ’ट्र्याक’ मा ल्याउने काम भएका छन् । सार्वजनिक खर्चमा सरकारलाई मितव्ययी बनाइएको छ । विकासका आयोजनामा नियमनका लागि विभिन्न कोसिस भएका छन् । सबै कुरा उत्कृष्टरूपमा भएका छन् भन्न त गाह्रो छ तर सकारात्मकरूपमा नै अगाडि बढेका छन् । सरकार गठन भएपछि भ्रष्टाचारका नयाँ–नयाँ काण्ड भएका छैनन् । सरकारको भ्रष्टाचारविरोधी छवि निर्माण भएको छ । आमनागरिक र मातहतका निकायमा पनि सरकारले स्वच्छतालाई महत्त्व दिएको भन्ने सन्देश प्रवाहित भएको छ, यो सकारात्मक कुरा हो । देशमा झन्डै ३० प्रतिशतका दरले विप्रेषण (रेमिट्यान्स) बढेका कारण अर्थतन्त्र अलिकति भए पनि सुधार आउने कुरामा सहयोग पुगेको छ । विभिन्न राजनीतिक दलसहितको गठबन्धनबाट वर्तमान सरकार बनेका कारण गठबन्धनमा केही अस्थिरता आउँछ कि वा तनाव हुन्छ कि भन्ने आशङ्का भए पनि गठबन्धन एकढिक्का र दृढ रहेको छ । हामी मिलेर काम गरिरहेका छौँ । राजनीतिक स्थायित्व र शान्ति सुरक्षाको परिस्थितिमा सुधार आएको छ ।

  • वर्तमान सरकार गठन यता जनजीविकाको सवालमा प्रत्यक्ष प्रभाव पार्ने काम के के भएका छन् ?

नागरिकलाई खास असर पर्ने कुरा भनेको महँगी हो । पूर्णरूपमा नियन्त्रण गर्न नसकिए पनि महँगी विस्तार हुने कुरा रोकिएको छ । महँगीलाई नियन्त्रणभित्र राखिएको छ । नेपालीलाई नेपालभित्र काम गर्ने वातावरण निर्माणमा विभिन्न काम भएका छन् । आर्थिक उपार्जनका लागि विदेश नै जानुपर्छ भन्ने छैन भन्ने सन्देश प्रवाह गर्ने कोसिस गरिरहेका छौँ । विदेशी लगानी भित्र्याउने सन्दर्भमा प्रदेश र केन्द्रमा पनि लगानी सम्मेलन गर्ने तयारी भइरहेका छन् । यसले आर्थिक गतिविधि चलायमान हुने विश्वास लिएका छौँ । यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएका छौँ । प्रधानमन्त्रीले पनि भ्रष्टाचार नियन्त्रणको लागि सुशासनलाई उच्च महत्त्व दिनुभएको छ । रोजगारी सिर्जना खासै गर्न सकिएको छैन । तर आर्थिक गतिविधि बढाउन सके मात्र रोजगारी सिर्जना हुने हो । आर्थिक तनाव र दबाबबाट देशलाई बाहिर निकाल्न सकेपछि आर्थिक गतिविधि बढ्ने विश्वास लिएका छौँ । नबिग्रिने गरी विकासको गतिविधि पनि अग्रगामी नै छ ।

  • कांग्रेस महासमिति बैठक ११ बुदे बैठकको निष्कर्ष सहितसम्पन्न भएको छ ती निष्कर्ष के के हुन् ?

नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ । बैठकबाट विभिन्न प्रस्तावहरू केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मतिले पारित भएका छन् । समूहगत छलफलबाट आएका सुझावलाई समेट्दै ती प्रस्तावहरू पारित भएका हुन् । जसअनुसार उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव संशोधनसहित पारित भएका छन् । त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री समेत रहेका डा प्रकाशशरण महतले पेस गरेको अर्थसम्बन्धी प्रतिवेदन पनि महासमितिले ग्रहण गरेको छ । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको सांगठानिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा पार्टीको नीति, सांगठानिक योजनामा स्पष्ट दृष्टिकोण निर्माण भएको छ । बैठकले वर्तमान सरकारमार्फत भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध वैधानिक रूपले सुशासन र राष्ट्रिय सदाचारको पद्धति सुरुवात गर्न सम्पूर्ण रूपले दृढ संकल्पित रहने अठोट गरेको छ भने अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलुकमा विद्यमान सबैखाले विभेद र हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुङ्ग्याउने प्रतिबद्धता जाहेर गरेको छ । समापन समारोहमा कांग्रेस नेताहरूले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

  • गगन थापा समर्थकको नाराबाजी पछि कांग्रेस महासमिति बैठकमा तनावग्रस्त बनेको भन्ने छ नी बजारमा ?

बैठक हलमा गण्डकी र बागमतीको समूहमा भएको छलफलको निष्कर्ष बागमती प्रदेशका सभापति इन्द्र बानियाँले बिहीबार पेस गर्न सुरु गरेसँगै महामन्त्री गगन थापाका समर्थकले होहल्ला सुरु गरेका हुन् । बानियाँले निष्कर्ष सुनाउने क्रममा गठबन्धनको विषय रणनीतिकमात्रै हुनुपर्ने बताएसँगै होहल्ला सुरु भएको हो । गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरुले नाराबाजी जारी राखे । त्यसपछि थापाले नै समर्थकलाई होहल्ला रोक्न आग्रह गरेपछि बैठक सुचारु भएको थियो । बजारमा हल्ला जस्तो भएको छैन् ।

  • माओवादीको विधान सम्मेलनअघि प्रचण्डले कांग्रेसबाट धोका भयो भन्ने कुरा गर्नुभयो । गठबन्धनमा खटपटको संकेत हो ?

त्यस्तो होइन । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशका सन्दर्भमा जे परिणाम आयो, त्यसप्रति इंगित गरेर बोलिएको कुरा हो । मिडियाले समग्रमा बुझ्नुभएन वा एजेन्डा त्यस्तै भएर हो । प्रसंग के थियो भने– गठबन्धनको एउटा उम्मेदवारले जित्ने अर्कोले हार्ने अवस्था भयो । त्यसप्रति उहाँले बोल्नुभएको हो ।

  • सत्ता गठबन्धनमा विश्वासको वातावरण बिग्रिएपछि यस्तो बोल्नु भएको हो कि ?

उहाँहरूले विश्वासको वातावरण बिग्रनुमा कोशी प्रदेशको राष्ट्रियसभा चुनाव र मुख्यमन्त्री जोड्नुहुन्छ । गठबन्धनमा कोशी प्रदेश नेपाली कांग्रेसको भागमा थियो नि । नेपाली कांग्रेसको मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन् । त्यहाँ मुख्यमन्त्री कसको हुनुपर्ने रु नभए सबै माओवादीलाई दिए भइहाल्यो नि । चुनावको कुरा छ गोप्य मतदानमा कसले के ग¥यो हामीलाई के थाहा हुन्छ रु माओवादी केन्द्रको उम्मेदवार हार्नुमा नेपाली कांग्रेसलाई दोष दिएर हुन्छ रु गठबन्धनमा कांग्रेसले विश्वासको वातावरण बिगारेको छैन । माओवादीसँग गठबन्धनमा भएको सहमति अनुसार कांग्रेस अगाडि बढेको छ ।

  • प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नियमित छलफल गरिराख्नु भएको छ । यसबिचमा कांग्रेससँगको गठबन्धनप्रति असन्तुष्टि व्यक्त गर्ने कुराले सत्ता गठबन्धनमा गडबड हुन खोजेको हो ?

उहाँले पहिले नेकपा एमालेसँग मिलेर सरकारको नेतृत्व गर्नुभएको हो । नेकपा एमालेलाई छोडेर नेपाली कांग्रेससित आउनुभयो । फेरि जानु होला । हाम्रो संविधानले नै त्यस्तै बनाएको छ । हाम्रो निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलको बहुमत आउँदैन । जब कुनै दलको बहुमत आउँदैन त हुने यस्तै हो । नभए हामीले कुनै दलले बहुमत ल्याउने निर्वाचन प्रणाली बनाउनुप¥यो । हामी त्यतातिर सोचिराखेका छैनौँ । कहिले हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्छौँ । केही के भन्छौँ । संसदीय व्यवस्थामा एक दलले बहुमत ल्याउने निर्वाचन प्रणाली बनाउनुतिर लागौँन । अनि यस्तो चलखेल हुँदैन नि । जनमत नभएको दलले नेतृत्व गर्ने अवस्था रोकिन्छ ।

  • वर्तमान सरकारको कार्यशैलीलाई कसरी नियालिरहनुभएको छ ?

चल्ने यसरी नै हो जो सरकारमा आए पनि । हुने यस्तै हो । कोहि आएर रातारात परिर्वतन भने हुदैन् । सरकार जनताको सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको छ । नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याई जनताको विकास र सुशासनप्रतिको उच्च अपेक्षालाई सम्बोधन गरेको छ । देशलाई मध्यम आयस्तरको विकासोन्मुख मुलुकको रूपमा रूपान्तरण गर्न आगामी दिनमा थप प्रतिबद्धता र समर्पणभावका साथ काम गर्नुपर्ने खाँचो छ, सरकार त्यसतर्फ सचेत र सजग छ । जनताको त्याग, सङ्घर्ष र बलिदानबाट स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण र सम्बर्द्धन गर्दै लोकतान्त्रिक र जनउत्तरदायी राजनीतिक व्यवस्थाको माध्यमबाट मुलुकलाई सुशासन र अग्रगमनको दिशामा अघि बढाउन सरकार दृढ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *