प्रिमनसुनको अवधि सुरु : देशभर बदलीसँगै बर्षा

काठमाडौं । हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो । मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार केहिबेर अघिबाट लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए। यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए। आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ ।

काठमाडौँमा आज बिहानैबाट वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *