रुसी सेनामा कार्यरत युक्रेनसँगको युद्धका क्रममा सात नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका युक्रेनसँगको युद्धका क्रममा थप सात नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको छ । रुसी सेनामा कार्यरत थप सातजना नेपाली नागरिकहरूले ज्यान गुमाउनुभएको दुःखद समाचार प्राप्त भएको छ, परराष्ट्रले विज्ञप्तिमा भनेको छ । रुस सरकारले औपचारिक रूपमा थप सात नेपालीको मृत्यु भएको सूचना दिएपछि परराष्ट्रले विज्ञप्ति जारी गरेको हो । यसअघि, परराष्ट्रले रुसी सेनामा भर्ती भएका १२ नेपालीको मृत्यु भएको जनाएको थियो ।

सातजना थपिएसँगै रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या १९ पुगेको छ । परराष्ट्रका अनुसार, पछिल्लोपटक रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने सात नेपालीमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । यस मन्त्रालय दिवंगत नेपालीहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको परराष्ट्रले जनाएको छ । यस्तै, रुसी सेनामा ज्यान गुमाएका नेपालीको परिवारलाई त्यहाँको सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार र त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउन रुसी सरकारलाई पुनः अनुरोध गरिएको पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *