भक्तपुरमा आठौं औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला हुँदै

भक्तपुर । भक्तपुरको सल्लाघारीमा नयाँ वर्षको आगमनसँगै भक्तपुरको विशिष्ट पहिचान कायम गर्न प्रयासरत संस्था औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा आठौं औद्योगिक साँस्कृतिक तथा व्यापार मेला हुन लागेको छ । विगत लामो समय देखि संचालन हुँदै आएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवले यो वर्ष पनि निरन्तरता पाउन लागेको कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिए । ‘नयाँ वर्षको आगमनसंगै लामो समयदेखि विभिन्न जिल्लामा औद्योगिक तथा व्यापार महोत्सव गर्दै आएको महोत्सव ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारी तीनकुनेस्थित १०८ रोपनी चौरमा गर्ने तयारी गरिरहेका छौं, त्यसका आवश्यक प्रशासनिक स्वीकृति पाइसकेका छौं । उहाँले सो महोत्सव चैत २२ गते विहीबारदेखि २०८१ साल वैशाख २ गतेसम्म चल्ने बताउनुभयो । ११ दिनसम्म सञ्चालन हुने सो महोत्सवका मेला संयोजक थापाले महोत्सवमा दुई सय भन्दा बढी स्टल र करिब पाँच लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गर्नुभएको थियो । मेला अवधिभर १० देखि १२ करोडसम्मको कारोबार हुने अपेक्षा आयोजकले गरेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रर्दशनी, विद्युतीय मेशिन कृषि औजार प्रर्दशनी, मोबाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुडाको प्रर्दशनी एवं बिक्रीका लागि रहने गरी तयारी गरिएको आयोजकले जानकारी दिएको छ । मेलाको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सवमा एशियाकै उत्कृष्ट बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव, दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति, रोटे पिङ्ग, रेन्जर, मारुती सर्कस, फेशन नृत्यहरु, नृत्य प्रतियोगिता, विभिन्न ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने जानकारी दिनुभयो । यस्तै मेलामा हस्तकला एवं स्थानीय उत्पादनलाई फ्रि स्टलको व्यवस्था समेत गरेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार भक्तपुरका नगरपालिका वा घरेलु संघको सिफारिसमा आएका घरेलु तथा हस्तकलाका उत्पादनलाई विषेश प्राथमिकताका साथ मेलामा निःशुल्क स्टलको व्यवस्था समेत गरिने छ । यस्तै मेलामा विभिन्न जात जातीहरुको पहिरन कला संस्कृति तथा खाना प्रर्दशनी तथा खानाहरु उपलव्ध हुने समेत आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार थारु समुदायको कला संस्कृति तथा रहन सहनको विषयमा जानकारी दिने हेतुले विभिन्न स्टल तथा उनीहरुको खाना भेष भुषाको प्रर्दशनीका लागि समेत आफूहरुले पहल गरि रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *