कांग्रेसले इलाममा माहोल हेर्दै

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ मा कांग्रेसबाहेकका राजनीतिक दलले उमेदवारको टुंगो लगाएर प्रचार थालेका छन् । प्रतिनिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने अहिलेसम्म उमेदवार चयन गर्न सकेको छैन । नेकपा एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उमेदवार बनाएर प्रचार अभियान थालिसकेको छ । पार्टीले औपचारिक प्रचार अभियान सुरु नगरे पनि सुहाङले अहिले व्यक्तिगत प्रचार थालेका छन् । नेकपा एमालेले मनोनयनपछि औपचारिकरुपमा प्रचार थाल्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने शनिबार एक समारोह गरेर अभियान थालेको छ । सो पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसहितको टिमले मिलन लिम्बुको पक्षमा धारणा राख्दै प्रचार अभियान थालेका थिए ।

सरकारको नेतृत्व गरेको माओवादीले भने अहिलेसम्म उमेदवारी दिने कि नदिने भन्ने निर्णय गरिसकेको छैन । माओवादीले एमाले उमेदवारलाई नै समर्थन गर्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए पनि माओवादीले भने निर्णय गरिसकेको छैन । कांग्रेसले सात जनाको नाम केन्द्रमा पठाए पनि दुई जना बढी प्रतिष्पर्धामा रहेको सो पार्टी स्रोतले जनाएको छ । कांग्रेसले डम्बर खड्का, नगेन्द्र कुमाल, केशव थापा, भेषराज आचार्य, रमेश लिङदेन, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले इलामको माहोल बुझेर फर्किएपछि पार्टीले निर्णय लिने तयारी गरेको छ । कांग्रेसले २० गतेभित्र उमेदवारको टुंगो लगाउने जनाएको छ । पार्टीले १९ र २० गते काठमाडौं बाहिर नजान शीर्ष नेतालाई भनिसकेको छ, एक नेताले भने, इलाममा उमेदवारको निर्णय हुनेछ । उनका अनुसार आचार्य र खड्कामध्ये एकलाई टिकट दिइनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *