प्रतिनिधिसभा बैठक- सांसदद्वारा खुल्ला कारागार नीति माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले दूरदराजमा रहेको चेपाङ बस्तीका धेरैलाई नागरिकता बनाउन समस्या भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले ती चेपाङबस्तीबाट नागरिकता बनाउन ४० किलोमिटर टाढा जानुपर्ने समस्या रहेको भन्दै सो समाधानका लागि पूर्वी चितवनमा इलाका प्रशासन स्थापनाको माग गरे ।

सांसद रामकुमार राई : देशभर ३२ हजारको सङ्ख्यामा कैदीबन्दीहरु उल्लेख गर्दै खुल्ला कारागारको नीति ल्याएर सुधार गर्नुपर्ने धारणा राखे।

सांसद प्रदीप यादव: विभिन्न घटनाका सम्बन्धमा गठित छानबिन समितिहरूले प्रभावकारी ढङ्गले काम गर्न नसकेको भन्दै सरकारले लगानी गरेर बनाएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद गोमा लाभ (सापकोटा): देशका अधिकांक कारागारको अवस्था नाजुक रहेको भन्दै सबै कारागारको अनुगमन गरी आवश्यकताभन्दा बढी कैदीबन्दीलाई एकै ठाउँमा नराख्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद रामप्रकाश चौधरी; नेपालको विकास, आर्थिक अवस्था सुधार गर्न नोटबन्दी गरी नयाँ नोट प्रचलनमा ल्याउन आवश्यक रहेको बताए।

सांसद प्रभु साह: हचुवाको भरमा सडक निर्माण गर्दा धेरै सडकको अवस्था दयनीय भएको र ठूलो बजेट सडकमा खर्च हुने तर निर्माण कहिले पनि सम्पन्न नहुने विषय भएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

सांसद तेजुलाल चौधरी: तराई मधेसमा शिक्षकको दरबन्दी कम हुँदा शिक्षाको गुणस्तरमा राम्रो नसकेको भन्दै सरकारले उक्त विषयमा गम्भीररूपमा ध्यान दिन जरुरी रहेको बताए ।

सांसद पुष्पबहादुर शाह: सरकारी प्रतिवेदनअनुसार सवारी दुर्घटनाका कारण औसत आठ जनाको मृत्यु र ८६ जना घाइते भएको देखिएको हुँदा त्यसलाई न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद मेटमणि चौधरी: देशमा पछिल्लो समयमा सवारी दुर्घटनाका घटना बढिरहेका हुँदा वैकल्पिक यातायात खोजी गरी यातायातलाई सुरक्षित बनाउनुपर्नेमा जोड दिए।

सांसद दयालबहादुर शाही: सुदूरपश्चिम क्षेत्र र कर्णाली प्रदेशमा आवतजातका लागि यात्रुहरूले अहिले पनि निकै सास्ती भोग्नुपरेको उल्लेख गर्दै पक्की सडक निर्माणका लागि आगामी आर्थिक वर्षका बजेटमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *